बैंकहरुको प्रफिक्ट र रिकभरीमा स्ट्रेस देखिरहेको छु : गभर्नर अधिकारी
कृषि विकास बैंकले नेपालका ग्रामीण क्षेत्रका कृषक र व्यवसायीलाई वित्तीय सेवा प्रदान गर्दै, कृषिमा आधारित विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ।
वि.सं.२०८१ माघ ७ सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताए । बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गर्दै गभर्नर अधिकारीले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए ।
गभर्नर अधिकारीले भने, “अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी वाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ । बैंकिङ सिस्टममा तरलता एकदमै राम्रो छ ।
बैंकहरु वेल क्यापिटलाइज छन् । भलै अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रुपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ । अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरु आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ।”
उनले कृषि क्षेत्रको समृद्धिको लागि बैंकले गरिरहेको प्रयासहरूको प्रशंसा गर्दै, आगामी वर्षहरूमा अझ प्रभावकारी र समावेशी बैंकिङ सेवा प्रदान गर्न बैंकको प्रतिबद्धता व्यक्त गरे। “हामीलाई विश्वास छ कि कृषि विकास बैंकका आगामी कदमहरूले राष्ट्रिय अर्थतन्त्रको समृद्धि र कृषकको जीवनस्तरमा सुधार ल्याउनेछन्,” गभर्नर अधिकारीले थपे।
गर्भनर अधिकारीले कृषि विकास बैंकलाई नेपालको कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकका रहेको भन्दै प्रशंसा गरे। उनले बैंकको समृद्धि र आर्थिक क्षेत्रमा यसको महत्वपूर्ण योगदानको सराहना गरे। गभर्नर अधिकारीले भने, “कृषि विकास बैंकले नेपालका ग्रामीण क्षेत्रका कृषक र व्यवसायीलाई वित्तीय सेवा प्रदान गर्दै, कृषिमा आधारित विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। यो बैंकले नेपाली अर्थतन्त्रको आधारशिला सुदृढ गर्नमा अनमोल योगदान पुर्याएको छ।”
प्रकाशित समय : १४:०६ बजे





















