राष्ट्र बैंकको कारवाहीमा पर्यो कर्णाली डेभलपमेन्ट बैंक
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको छ ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै बाँके, नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको हो ।
बैंकले निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ । बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने देखिएको थियो ।
बैंकको वित्तीय अवस्था समस्यान्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र उक्त बैंकको नयाँ व्यवस्थापनले बैंकको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा आजैको मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खोता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित समय : १२:१९ बजे





















