नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र लक्ष्मी सनराइज क्यापिटलबीच समझदारी
वि.सं.२०८१ असोज २१ सोमवार
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।
सो सम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
२९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ । ग्लोबल इक्विटी फन्ड लिमिटेडले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो ।
लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल मर्ज भई बनेको लक्ष्मी सनराइज क्यापिटलसँग मर्चेन्ट बैंकिङको बलियो जग छ । अनुमतिप्राप्त मर्चेन्ट बैंकरको रुपमा एलएस क्यापिटलले मर्चेन्ट र इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धी थुप्रै सेवा प्रदान गर्छ ।
प्रकाशित समय : १६:४० बजे





















