नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब बढी नाफा
वि.सं.२०८० वैशाख ८ शुक्रवार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ३ अर्ब बढीको नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मका विवरण अनुसार ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको हो ।
यो गत वर्षको सोही अवधिको भन्दा २२.९६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड ९६ लाख ५६ हजार रुपैयाँले नकारात्मक रहेको हो ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड १२ लाख ७४ हजार रुपेयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.९४ प्रतिशत पुगेको छ ।
प्रकाशित समय : १०:०२ बजे






















