आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?
वि.सं.२०८३ साउन २५ सोमवार
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि लागु हुने गरी करको नयाँ दर सार्वजनिक गरेको छ।
आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ को प्रावधान अनुसार व्यक्तिगत तथा दम्पत्तिका लागि लाग्ने करको विभिन्न पाँच वटा स्ल्याबसहित एकलौटी फर्मले तिर्नुपर्ने करको विस्तृत विवरण आधिकारिक रूपमा सार्वजनिक गरेको हो। यस नयाँ कर प्रणालीले खासगरी सर्वसाधारण, व्यवसायी र विभिन्न सवारी साधनका धनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
सार्वजनिक गरिएको कर सम्बन्धी नयाँ व्यवस्थामा अन्य विभिन्न आर्थिक क्षेत्रका अतिरिक्त सवारी साधनहरूले तिर्नुपर्ने वार्षिक करको दरलाई पनि विशेष रूपमा समेटिएको छ। भाडाका सवारी साधनका धनीहरूले इन्जिनको क्षमता अर्थात् सीसी (CC) र किलोवाट (kW) का आधारमा न्यूनतम वार्षिक ६ हजार ५ सय रुपैयाँदेखि अधिकतम १७ हजार ५ सय रुपैयाँसम्म कर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी पछिल्लो समय बजारमा प्रयोग बढ्दै गएका विद्युतीय सवारी साधनको हकमा पनि क्षमता अनुसार फरक-फरक करको दर तोकिएको छ। विद्युतीय सवारीका धनीहरूले आफ्नो सवारीको क्षमता अनुसार न्यूनतम ४ हजार रुपैयाँदेखि अधिकतम ९ हजार ५ सय रुपैयाँसम्म वार्षिक कर तिर्नुपर्नेछ। सरकारले सार्वजनिक गरेको यो नयाँ दररेट चालु आर्थिक वर्षको साउन महिनादेखि नै पूर्ण रूपमा लागु भइसकेको छ।
प्रकाशित समय : २२:०६ बजे






















