मुक्तिनाथ बैंकको नाफामा छलाङ, सबै सूचकमा चमक
वि.सं.२०७८ साउन ३१ आइतवार
काठमाडौँ। मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आईपुग्दा सबै सूचकमा चमक छाएको छ । बैंकद्धारा आज सार्वजनिक आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैकको खुद नाफाका साथै अघिकांश सूचकमा छलाङ मारेको छ ।
अघिल्लो वर्ष ७० करोड ७४ लाखमा सीमित खूद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब १५ करोड माथि कमाएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ६२.७० प्रतिशतको छलाङ हो ।
अघिल्लो वर्ष १ अर्ब रहेको बैंकको संचालन मुनाफामा समेत ६१.५८ प्रतिशतको बढोत्तरी भई १ अर्ब ६३ करोड पुगेको छ ।
कोरोनाकालमा पनि व्यवसाय वृद्धिमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष २ अर्ब २५ करोड रहेको खूद ब्याज आम्दानी करिब २० प्रतिशतले बढेर २ अर्ब ७० करोड माथिको उचाईमा पुगेको हो ।
चुक्तापूँजी ४ अर्ब ८१ करोड रहेको बैंकको समीक्षा वर्षका लागि वितरणयोग्य मुनाफा ८६ करोड ५ लाख रहेको छ । यो हिसाबले बैंकले १७ प्रतिशतभन्दा माथिको लाभांश क्षमता बनाएको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जाको आकारमा समेत फड्को मारेको छ । अघिल्लो वर्षको तुलनामा ५१.६३ प्रतिशतले निक्षेप बढाएर ८६ अर्ब ९० करोड पुर्याएको बैंकले लोनतर्फ पनि करिब ५३ प्रतिशतको बढोत्तरीसँगै ७२ अर्ब ८९ करोडको उचाई चुमाएको छ ।
अघिल्लो वर्ष १ अर्ब ४९ करोडमा सीमित रिजर्बको आकार समेत करिब ३४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ६४ लाख पुगेको छ ।
कोरोनाकालको अप्ठ्यारो परिस्थितिमा पनि बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.४६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर समीक्षा वर्षसम्म ०.२५ प्रतिशतमा सीमित भएको छ ।
नाफामा निकै आकर्षक बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानी(इपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १६.३६ रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष २३.९२ रुपैयाँको उचाईमा पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४१.४९ रुपैयाँ, असार मसान्तका आधारमा पीई रेसियो २७.४७ गुणा, कस्ट अफ फण्ड ६.२६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो ११.१६ प्रतिशत, बेस रेट ८.०५, तरलता अनुपात २४.०७ प्रतिशत, बैंकको स्वपुँजीमा प्रतिफल(आरओई) १८.२३ प्रतिशत रहेको छ ।
मुक्तिनाथ विकास बैंकले कायम गरेको आरओई संभवत नेपालको बैंकिङ उद्योगकै सबैभन्दा बढी हो । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी आरओई एनआइसी एशिया बैंकको १७.१४ प्रतिशत रहेको छ ।
२०७८ साउन ३१ गते प्रकाशित
प्रकाशित समय : ०५:५२ बजे






















