सिद्धार्थ बैंकको लापरवाही, पैसा नै नभएको खाताबाट कसरि झिकियो ३४ लाख ३५ हजार
वि.सं.२०७८ असार २३ बुधवार
काठमाडौँ । सुन्दा अचम्म लाग्न सक्छ, खातामा पैसा नै नभएको डेबिट कार्डबाट पैसा निस्कियो भन्दा । तर, यो नेपालमा नै हालै घटेको घटना हो । सोलुखुम्बु स्थायी घर भएका भूतपूर्व बेलायती सेना ५७ वर्षीय जगत बहादुर गुरुङले लण्डनको लोइड्स बैङ्कबाट लिएको भिसा कार्डमार्फत बैंकमा पैसा नै नभएको र उक्त कार्डको समयावधि समेत सकिएको अवस्थामा रकम निकालेका छन् ।
अहिले काठमाडौँको कालोपुल स्थित डेरा गरी बसेका सेवानिवृत्त भइसकेका गुरुङ आफुु बेलायतबाट आउँदा लिएको उक्त कार्डबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको पाईएको हो । जबकी उनको खातामा शून्य रकम र कार्डको समेत समयावधि सकिएको थियो ।
भूतपूर्व सैनिकको हैसियतले उनलाई मासिक करिब ६० हजार रुपैयाँ पेन्सनबापत आउँथ्यो । तर उनको भिसा डेबिट कार्डको मिति मे २०२१ मा सकिएपछि त्यही भिसा कार्ड चलाउन मिल्ने गरी नवीकरण गरिदिन उनले बैङ्कसँग आग्रह गरेको बताउँछन् । यदि बैंकले उक्त कार्ड नविकरण गरेपनि मात्रै ६० हजार उनले निकाल्न पाउने थिए । तर त्यसो भएन ।
गुरुङका अनुसार उनी केहीदिन अघि पैसा सकिएको साथै मिति गुज्रिसकेको भिसा कार्ड बोकेर सिद्धार्थ बैङ्कको कालोपुलस्थित एटीएम बुथमा गएर कार्डको पिन नम्बर राखि रकम झिक्ने प्रयास गरदा अचम्मले उक्त कार्डबाट पैसा निस्कियो । अस्वभाविक रुपमा बैंकबाट पैसा निस्कीएपछि उनले पुनः बैंकबाट पैसा निकाल्न खोजे उनी त्यसपटक पनि सफल भए ।
उनले निकाल्न पाउने रकम निकालिसके पछि पनि उनको कार्डबाट पैसा आइरहेको उनले बताउँछन् । उनले भने ‘कार्डबाट पैसा आइरहेपछि मनमा लोभ पलायो र झोला नै बोकेर पैसा झिक्न विभिन्न एटीएम बुथमा पुगेँ । अन्य बैङ्कको एटीएम बुथबाट पनि पैसा निकाल्ने प्रयास गरे तर त्यो सफल हुन सकेन ।’ उनले थपे ‘अन्य बैंकको एटिएमबाट पैसा नआएपछि सिद्धार्थ बैङ्ककै हात्तीसारमा रहेको एटीएम बुथ र भाटभटेनीमा रहेको बुथसम्म पनि पुँगे तर निस्किएन ।’ यद्यपी पुरानो मोडलको एटीएम मेसिन रहेको कालोपुल र चाबहिलबाट पैसा निस्किएको उनले बयानमा बताएका छन् ।
दुई स्थानको एटीएमबाट मात्रै पैसा निस्केपछि उनले असार १७ गतेदेखि लगातार ४ दिनको बीचमा उक्त पैसा उनले निकाले । उनी भन्छन् ‘सित्तैमा आएको रकम, त्यो पनि विदेशी बैङ्कको । कसले खोजी गर्ला भन्ने भयो मनमा लोभ पलायो ।’
तर सिद्धार्थ बैङ्कका कर्मचारी असार २०मा कालोपुलस्थित एटीएम बुथमा पैसा राख्न जाँदा बैङ्कको एटीएमबाट निकालिएको रकम र त्यहाँ हुनुपर्ने बाँकी रकमको हिसाब मिलेन । त्यसपछि पैसा कहाँ गयो भनेर खोजी सुरु भयो ।
हिसाब गडबढ भएको कुरा बैङ्कको डिजिटल पेमेन्ट सिस्टम हुँदै बैंकको केन्द्रीय कार्यालय पुग्यो र तत्कालै उक्त एटीएम बुथ सट डाउन गरी अनुसन्धान सुरु भएको बैंक स्रोतले बतायो ।
यसरी हेर्दा कालोपुलको मात्रै नभएर चाबहिलको एटीएम बुथमा पनि त्यही समस्या देखियो । त्यो खबर पनि तत्कालै बैङ्कको केन्द्रीय कार्यालयमा पुग्यो । त्यसपछि बैंकले केही समय सबैजसो एटीएम बुथ सटडाउन गरेर अनुसन्धान सुरु गर्यो ।
अनुसन्धानले एटिएम बुथबाट अनधिकृतरुपमा पैसा झिकेको पत्ता लागे लगत्तै बैङ्कले नेपाल इलेकट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) हुँदै प्रहरीमा खबर गर्यो । सिद्धार्थ बैङ्कको एटीएम बुथमा रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले ५७ वर्षीय जगतबहादुर गुरुङ र ३० वर्षीय युवती सावित्री गुरुङलाई प्रहरीले पक्राउ गर्यो । उनीकहरु अहिले लिभिङ्ग टुगेदरमा रहेको पाईएको छ ।
यसरी प्रहरीले उनीहरू रहेको कोठा खानतलासी गर्यो । त्यहाँ बाट २१ लाख नगद बरामद गर्यो भने चाबहिलको गोमा गणेशनामक सहकारीमा जम्मा गरेको १० लाख ५० हजारको भौचरसमेत भेट्यो । बाँकी करिब ३ लाख रुपैयाँ भने उनीहरूले खर्च गरिसकेको प्रहरीले जनाएको छ ।
अन्ततः पुरानो मोडलको एटीएम बुथ सँग कनेक्ट भएको नेप्सको खराबीले उक्त घटना घटेको सिद्धार्थ बैङ्कका डिजिटल पेमेन्ट सोलुसनका हेड सुरेश राज महर्जनले बताए ।

२०७८ असार २३ गते प्रकाशित
प्रकाशित समय : १३:२० बजे





















