कालिन्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि ठूलो फड्को
वि.सं.२०८३ साउन २१ बिहीवार
दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीले खुद नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीमा ठूलो फड्को मारेको छ।
समीक्षा अवधिमा कम्पनीले केबुलकार तथा सेवा सञ्चालनबापत ८ करोड ५९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ७ करोड ६३ लाख ६१ हजार रुपैयाँको तुलनामा १२.५५ प्रतिशतले बढेको हो।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको २ करोड ८१ लाख २० हजार रुपैयाँबाट १०५.१४ प्रतिशतले बढेर ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख ९ हजार रुपैयाँबाट घटेर ३ करोड १६ लाख ३ हजार रुपैयाँ कायम भएको छ। तथापि, अन्य आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण खुद नाफामा आकर्षक वृद्धि देखिएको हो। कम्पनीले समीक्षा अवधिमा ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी हासिल गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष १६ लाख ४८ हजार रुपैयाँ मात्र रहेको थियो।
कम्पनीको बैंक ऋणको ब्याज भुक्तानी तथा वित्तीय खर्च अघिल्लो वर्षको ९२ लाख २७ हजार रुपैयाँबाट घटेर ५१ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी वृद्धि हुनुका साथै जगेडा कोषको स्थिति पनि सबल बनेको छ। कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष अघिल्लो आर्थिक वर्षको ३ करोड १९ लाख रुपैयाँबाट बढेर ५ करोड ८० लाख १२ रुपैयाँ पुगेको छ।
कम्पनीले आफ्नो दीर्घकालीन वित्तीय दायित्व घटाउँदै लगेको छ। अघिल्लो वर्ष ४ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर १ करोड ५३ लाख ७७ हजार रुपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्तिको आकार ७७ करोड १९ लाख रुपैयाँ पुगेको छ।
प्रकाशित समय : १२:०० बजे





















