ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड
वि.सं.२०८३ साउन १४ बिहीवार
काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस (UKAS) र आईएएफ (IAF) बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो।
यस प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाले प्रदान गर्ने सम्पूर्ण वेलनेस तथा ब्युटी सेवाहरूमा कायम रहेको गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) लाई आधिकारिक मान्यता दिएको छ।
यस प्रमाणीकरणको दायराभित्र कम्पनीले उपलब्ध गराउँदै आएको थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पूल तथा टेनिस सुविधाहरू समेटिएका छन्। यसबाट ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइको मापदण्ड र ग्राहक सेवा प्रणाली अन्तर्राष्ट्रिय स्तरको रहेको पुष्टि भएको छ।
यस उपलब्धिबारे बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) भुवन फैजुले भन्नुभयो, “यो आईएसओ ९००१ः२०१५ प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो। तर यसभन्दा बढी यो हाम्रो हरेक ग्राहकप्रतिको प्रतिबद्धता हो— कि उनीहरूले हाम्रो हरेक शाखामा उत्तिकै उच्च स्तरको हेरचाह, सरसफाइ र उत्कृष्ट सेवा पाउनेछन्।”
त्यस्तै, कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) रनिल फैजुले थप्नुभयो, “यो प्रमाणीकरण वर्षौंदेखि ट्रन्क्यूलिटी स्पाले निर्माण गरेको प्रणाली र मापदण्डको सफलता हो। यसले हामीले प्रदान गर्ने प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तरप्रतिको निष्ठालाई झल्काउँछ। यो मापदण्डलाई हामी भविष्यमा अझै माथि उठाउँदै लैजानेछौँ।”
यो ऐतिहासिक मान्यतासँगै ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्ड बन्न सफल भएको छ, जसले ग्राहकहरूलाई सुरक्षित र उच्च गुणस्तरीय वेलनेस अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
१८ वर्षको यात्रा र विश्वस्तरीय पहुँच
काठमाडौँको लाजिम्पाटबाट सेवा सुरु गरेको ट्रन्क्यूलिटी स्पाले विगत १८ वर्षदेखि स्वदेश तथा विदेशमा उच्चस्तरीय वेलनेस सेवा प्रदान गर्दै आएको छ। हाल यो स्पा काठमाडौँ, चितवन, पोखरा, भैरहवाका साथै मलेसियाका प्रसिद्ध होटलहरूसँगको साझेदारीमा सञ्चालित छ।
कम्पनीले हाल ३०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। साथै, कम्पनीको आफ्नै प्रशिक्षण विभाग ‘ट्रन्क्यूलिटी इन्टरनेसनल ब्यूटी एण्ड स्पा एकेडेमी’ मार्फत हालसम्म ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेससम्बन्धी प्राविधिक सीप प्रदान गरिसकिएको छ।
प्रकाशित समय : १९:२१ बजे





















