कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील
वि.सं.२०८३ साउन १४ बिहीवार
ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका स्थित कप्तानगन्जमा हालै (श्रावण १० गते) भएको हिंसात्मक झडप र त्यसपछिको अशान्त वातावरणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभ र नि:शुल्क उपचारको माग गरिएको छ।
महासङ्घले कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसाबाट हुन नसक्ने स्पष्ट पार्दै अफवाह र उत्तेजनाको पछि नलाग्न सर्वसाधारण, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूलाई आग्रह गरेको छ।
साथै कप्तानगन्ज घटनाका कारण पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्डमा भइरहेका विरोध प्रदर्शनले यात्रुहरूलाई सास्ती भएको भन्दै यातायात सञ्चालनका लागि सहज र निर्बाध वातावरण बनाइदिन सबै राजनीतिक दल, नागरिक समाज र सरकारसँग माग गरिएको छ।
त्यसैगरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रकाशित समय : १९:१८ बजे





















