सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित
वि.सं.२०८३ असार ३२ बिहीवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार कोशीका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिमका १० शाखामार्फत वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य विभिन्न समूहका गरी करिब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङसँगै बढ्दो साइबर अपराध र वित्तीय जोखिमबारे जानकारी गराइएको थियो। साथै नगद कारोबार, विप्रेषण तथा अन्य वित्तीय कारोबार गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न सहभागीलाई आग्रह गरिएको बैंकले जनाएको छ।
यसैबीच, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा संघसंस्थालाई सहयोग उपलब्ध गराएको छ। कर्णाली प्रदेशको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको छ।
बैंकले यस्ता कार्यक्रमले वित्तीय पहुँच विस्तार गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।
सिटिजन्स बैंकले हालै युवामुखी ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’, ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ लगायतका सेवा सञ्चालनमा ल्याएको छ। यसअघि फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) पनि सञ्चालनमा ल्याइसकेको छ।
हाल बैंकले ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले लगातार ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ।
प्रकाशित समय : १५:३५ बजे






















