back
himalayan life

धान दिवसको रौनक र समर्थन मूल्यको सकस : किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रूपमा चिनिने असार १५ लाई सरकारले औपचारिक रूपमै धान दिवसका रूपमा मनाउँदै आएको छ ।

कृषिप्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा र संस्कृतिसँग अभिन्न रूपले जोडिएको धान खेतीको महत्वलाई उजागर गर्न देशभरका खेतका फाँटहरूमा सामूहिक रोपाइँ, हिलो खेल्ने र असारे गीत गाउने परम्परा रहेको छ । तर, उत्सवको यो माहोलबीच नेपाली किसानहरू भने समयमै मल नपाउने समस्या, खेतीयोग्य जमिनको अभाव र उत्पादनको उचित मूल्य नपाएको चिन्तामा छन् ।

सरकारले किसानलाई उनीहरूको श्रमको उचित मूल्य दिलाउन र बजारमा बिचौलियाको चलखेल रोक्न हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्ने गर्दछ । सरकारले यसवर्ष बर्षे धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको थियो । गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

मोरङका किसान रमेश कार्कीका अनुसार सरकारले तोकेको मूल्य कागजमै सीमित छ । उनी भन्छन,‘समर्थन मूल्य तोकिए पनि व्यवहारिक कार्यान्वयन नहुँदा किसानले वास्तविक लाभ पाएका छैनन् । बजार अस्थिरता र आयात निर्भरताले हामी मारमा परेका छौँ ।’

उनका अनुसार धेरै राइस मिलहरूले सरकारी मूल्यभन्दा कममा धान खरिद गर्ने गरेका छन् । ‘सरकार र निजी क्षेत्र दुवैले समर्थन मूल्यअनुसार खरिद सुनिश्चित गरे मात्र किसान उत्पादनमा टिक्न सक्छ,’ कार्कीको भनाइ छ ।

कार्कीले आरजू राइस मिलजस्ता केही निजी पहलले किसानलाई राहत दिएको बताए । उनका अनुसार मिलले अग्रिम मूल्य निर्धारण गरी धान खरिद गर्ने अभ्यासले केही हदसम्म स्थिरता दिएको छ । तर चैते धानको समस्या अझ गम्भीर रहेको उनको भनाइ छ । ‘३–४ दिनमै धान बिग्रिन्छ, त्यसैले किसान बाध्य भएर कम मूल्यमा बेच्नुपर्छ,’ उनले भने ।

त्यस्तै कृषक गोविन्द न्यौपानेका अनुसार पछिल्लो समय यान्त्रिकरणले खेती सहज भएको छ । उनी भन्छन,‘पहिला धेरै समस्या थिए, अहिले हार्वेस्टर प्रयोगपछि ४० जनाले गर्ने काम दुई घण्टामै हुन्छ । यसले लागत घटाएको छ र आम्दानी बढाएको छ ।’

मोरङका कृषक कर्णबहादुर थापाले भने सरकारी नीति र बजार व्यवस्थापन कमजोर रहेको गुनासो गरे । ‘सरकारले मूल्य तोक्छ तर किन्ने व्यवस्था हुँदैन, त्यसैले किसानले लाभ पाउँदैनन,’ उनले भने ।

उनका अनुसार मल अभाव, विशेषगरी डीएपी मलको कमी र बिचौलियाको प्रभावले किसान अझै समस्यामा छन् । ‘साना किसानहरू सबैभन्दा बढी मारमा छन’ उनीहरूले तत्काल पैसा चाहिँदा कम मूल्यमा बेच्न बाध्य हुन्छन्,’ थापाको भनाइ छ ।

यद्यपि, मूल्य तोकिए पनि किसानले समयमै आफ्नो उत्पादन बिक्री गर्न नपाउने र सरकारले खरिद नगर्ने पुरानो समस्या अझै कायमै छ । कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलका अनुसार सरकारले तोक्ने समर्थन मूल्य एउटा रणनीतिक बजार हस्तक्षेपको औजार हो । महानिर्देशक सन्जेल भन्छन,‘न्यूनतम समर्थन मूल्य भनेको किसानको लागत उठ्न सकोस् र निजी क्षेत्रका व्यापारीहरूसँग बार्गेनिङ गर्ने क्षमता बढोस् भन्नका लागि हो ।’

सरकारसँग सीमित स्रोत र भण्डारणको क्षमता कम भएकाले सबै धान सरकारी निकाय (खाद्य व्यवस्था तथा व्यापार कम्पनी) ले नै खरिद गर्न नसके पनि यसले बजारमा एउटा ’बेन्चमार्क’ खडा गर्ने उनको तर्क छ ।

केही स्थानीय तह र जिल्ला प्रशासनले तोकिएको मूल्यभन्दा कममा खरिद–बिक्री नगर्न सूचना जारी गर्ने र कतिपयले थप अनुदान (टपअप) दिने गरेको उदाहरण दिँदै उनले यसलाई प्रभावकारी बनाउन स्थानीय र प्रदेश सरकारको पनि समन्वय आवश्यक रहेको बताए ।

नेपालमा धानको उत्पादन ५५ देखि ५८ लाख मेट्रिक टनको हाराहारीमा भए पनि अर्बौँको चामल आयात भइरहेको तथ्याङ्क छ । यस विषयमा महानिर्देशक सन्जेलले तथ्याङ्कको ’मिसम्याच’, खाने बानी र औद्योगिक प्रयोगलाई मुख्य कारण मानेका छन् ।

पछिल्लो समय कृषिमा आत्मनिर्भर हुन नसक्दा युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेको र खेतीपातीमा आधुनिकीकरणको अभाव खट्किएको छ । सरकारले हरेक वर्ष तामझामका साथ धान दिवस मनाइरहँदा किसानहरूले भने रासायनिक मलको अभाव र समयमै बजार व्यवस्थापन नहुने समस्या भोग्दै आएका छन् ।

चैते धानको सन्दर्भमा देखिएको मूल्यको समस्या र मोटो धानको हकमा सरकारी खरिद प्रक्रियाको ढिलासुस्तीलाई हटाउनु नै अहिलेको मुख्य चुनौती देखिन्छ । राष्ट्रिय धान दिवसले किसानको मेहनतप्रति सम्मान व्यक्त गरे पनि सरकारले तोकेको समर्थन मूल्यको पूर्ण कार्यान्वयन र समयमै मलको उपलब्धता सुनिश्चित नगरेसम्म ’मानो रोपेर मुरी फलाउने’ किसानको सपना अधुरै रहने देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

‘राज्यले सहकारीको प्रभावकारी नियमन नगर्दा र एक्सन नलिंदा समस्या सिर्जना भयो’

वि.सं.२०८३ असार १० बुधवार १७:४५

काठमाडौं । राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि...

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

वि.सं.२०८३ असार १० बुधवार १२:२४

भोजपुर । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका...

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५५

काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र...

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५०

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा...

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

नियमविपरीत चल्ने कोशी प्रदेशका १० सहकारी खारेज हुँदै, १५ दिने स्पष्टीकरण माग

वि.सं.२०८३ असार ३ बुधवार १०:०१

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय...