काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा सामुदायिक विद्यालयलाई इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। शिक्षामा प्रविधिको प्रयोगलाई विस्तार गर्दै गुणस्तरीय तथा आधुनिक शिक्षण प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रम २०८३ जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दीपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिहरूले बालबालिका राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको शिक्षामा प्रविधिको पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताए। सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण सामग्रीको प्रयोग बढाउँदै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, रोचक र अन्तरक्रियात्मक बनाउने लक्ष्यसहित यो सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार वितरण गरिएका स्मार्ट बोर्डहरूको प्रयोगबाट कक्षाकोठाको शिक्षण विधि दृश्यात्मक र व्यवहारिक बन्नेछ। भिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगमार्फत विद्यार्थीहरूले विषयवस्तु सजिलै बुझ्न सक्ने भएकाले सिकाइ क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ। यस कार्यक्रमबाट १२ सामुदायिक विद्यालयका वार्षिक १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।
सिद्धार्थ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। बैंकले दिगो विकास लक्ष्यलाई आफ्नो प्राथमिकतामा राख्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको बताएको छ।






















