गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा दोस्रो संस्करण ‘गरिमा रोड रेस–२०८२’ आयोजना हुने
वि.सं.२०८२ कात्तिक २६ बुधवार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित दोस्रो संस्करणको ‘गरिमा रोड रेस–२०८२’ आयोजना गर्ने भएको छ। आगामी मंसिर ६ गते, शनिबारका दिन काठमाडौंमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको बैंकको वार्षिक खेलकुद कार्यक्रमको निरन्तरता हो ।
गरिमा रोड रेसको यस संस्करणमा खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा यस वर्ष नयाँ थप गरिएको भेट्रान (महिला ४५ वर्षमाथि र पुरुष ५० वर्षमाथि) तर्फ ५ किलोमिटर दौड हुनेछ । गत वर्षको तुलनामा यस संस्करणमा भेट्रान समूह समावेश गरिएको बैंकले जनाएको छ ।
करिब १,००० जना धावकको सहभागिता रहने अपेक्षा गरिएको यो प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । खुला तर्फका दुवै समूहका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने कर्पोरेट र भेट्रान तर्फका विजेताले जनही ३० हजार रुपैयाँ पाउनेछन् । खुला समूहका दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान तर्फका दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेले क्रमशः २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
रोड रेस प्रतियोगिता बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुनेछ । खुला समूहका धावकहरू बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर सोही बाटो हुँदै बालुवाटार फर्कनेछन् । कर्पोरेट र भेट्रान समूहका धावकहरू भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो हुँदै बालुवाटार फर्कनेछन् ।
प्रतियोगिताको सहज दर्ता प्रक्रियाका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । साथै, प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ । गत वर्षको पहिलो संस्करणमा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
प्रकाशित समय : १४:१६ बजे





















