प्रभु बैंकको गण्डकीमा नयाँ सेवा केन्द्र सञ्चालनमा, साना उद्यम र उपभोक्तालाई लक्षित
वि.सं.२०८१ चैत २५ सोमवार
पोखरा। प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले साना, मझौला तथा लघु उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गर्दै ‘SME & Consumer Banking HUB Gandaki’ नामक नयाँ सेवा केन्द्र स्थापना गरेको छ। पोखरामा आयोजित विशेष कार्यक्रममार्फत यस केन्द्रको औपचारिक उद्घाटन गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि रानाले बैंकको यो नयाँ पहलले गण्डकी प्रदेशका लक्षित ग्राहक वर्गलाई अझ प्रभावकारी, छरितो र उद्देश्यअनुसारको सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तो केन्द्रले उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै वित्तीय पहुँचलाई अझ सरल र समावेशी बनाउने धारणा राख्नुभयो।
यस हबमार्फत गण्डकी प्रदेशका व्यवसायीहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने ऋण सुविधा र परामर्श सेवा उपलब्ध गराइनेछ। त्यस्तै, उपभोक्ता वर्गका लागि घर निर्माण, सवारी साधन खरिद, शिक्षा तथा स्वास्थ्यजस्ता आवश्यकताहरूमा लक्षित विविध ऋण योजना पनि सहज रूपमा प्रदान गरिनेछ।
कार्यक्रममा वक्ताहरूले प्रभु बैंकले प्रस्तुत गरेको यो सेवा केन्द्रले वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान दिने, रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
बैंकका अनुसार SME & Consumer Banking HUB Gandaki मार्फत प्रदान गरिने सेवाहरू छरितो, पारदर्शी र ग्राहकमैत्री हुनेछन्। इच्छुक सेवाग्राहीहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
प्रकाशित समय : १०:०६ बजे






















