रवि लामिछानेले बुझाए धरौटी रकम ६० लाख
वि.सं.२०८१ माघ २ बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् ।
लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।
जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गएको बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
गत कार्तिक २ गते पक्राउ परेका रवि जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर रिहा भएपछि आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको थियो ।
प्रकाशित समय : १८:१६ बजे





















