कर्णाली डेभलपमेन्ट बैंकले २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्ने
वि.सं.२०८१ पुस २१ आइतवार
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपियाँका दरले रकम भुक्तानी गर्न थालेको छ ।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कले निक्षेप फिर्ता गर्न थालेको हो । समस्याग्रस्त घोषणापछि नेपाल राष्ट्र बैङ्कको नियन्त्रणमा रहेको सो बैङ्कले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपियाँका दरले रकम भुक्तानी गर्न थालेको हो ।
बैङ्कले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको भन्दै राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको थियो ।
बैङ्कका विभिन्न १६ शाखाबाट निक्षेप फिर्ता गरेको बैङ्कले पुस १८ गते बिहीबार १९ शाखाबाट रकम फिर्ता गरिरहेको जनाएको छ ।
नेपालगन्जको बाँकेमा मुख्य कार्यालय रहेको बैङ्कका बाँके, बर्दिया, दाङ, तुलसीपुर, लमही, गुलरिया, बाँसगढी, भुरीगाउँ, घोराही, कोहलपुर, खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकुरद्वारा, नारायणपुर र सिसहनियामा गरेर १६ वटा शाखाबाट निक्षेप भुक्तानी लिन बैङ्कले आग्रह गरेको छ ।
प्रकाशित समय : १७:४९ बजे





















