चार महिनामा वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति ३२ अर्ब ३३ करोड
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । देशमा संचालित २० वटा वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत आवको सोहि अवधिको तुलनामा ७७.५० प्रतिशतले वृद्धि भएको हो ।
सावर्जनिक तथ्यांकअनुसार कार्तिक महिनासम्मा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ्ग सम्पत्ति सबैभन्दा बढि छ । बैंकको ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ्ग सम्पत्ति छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७९.३३ प्रतिशतले बढी हो ।
गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंक रहेको छ । चालु आवको चार महिनामा बैंकसँग ४ अर्ब २२ करोड ६० लाख रुपैयाँको गैरबैंकिङ्ग सम्पत्ति रहेको छ ।
त्यस्तै, हिमालयन बैंकको गैरबैंकिङ्ग सम्पत्ति ३३९.२० प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ३ करोड, कुमारी बैंकको २ अर्ब ६६ करोड, नबिल बैंकको २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
चालु आवको कार्तिक मसान्तसम्ममा प्राइम बैंकको १ अर्ब ६९ करोड, लक्ष्मी बैंकको १ अर्ब ५९ करोड र प्रभु बैंकको १ अर्ब ५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंक र एनएमबि बैंकसँग १ अर्ब ३ करोड र १ अर्ब २ करोड रुपैयाँको सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कृषि विकास बैंकसँग ९८ करोड ३३ लाख रुपैयाँ, सिटिजन बैंकको ८० करोड ९९ लाख, सानिमा बैंकको ७० करोड ८५ लाख र सिद्धार्थ बैंकले ७० करोड ३८ लाख रुपैयाँ , एभरेस्ट बैंकको गैरबैंकिङ्ग सम्पत्ति ५१ करोड १२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३५ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकसँग २९ करोड ७६ लाख र नेपाल बैंकसँग २० करोड ४१ लाख रुपैयाँको सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गैरबैंकिङ्ग सम्पत्ति भनेको बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुली गर्न नसकेपछि ऋणको धितो लिलामीमार्फत बिक्री हुन नसक्दा आफैंले आफ्नो स्वामित्वमा लिने सम्पत्ति हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ्ग सम्पत्ति मानिन्छ ।
प्रकाशित समय : १३:०३ बजे






















