स्टार माइक्रो इन्स्योरेन्स र गरिमा क्यापिटलबीच प्रत्याभूतिकर्ता नियुक्त
वि.सं.२०८१ असोज २१ सोमवार
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
इन्स्योरेन्सले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने आज सम्झौता भएको हो ।
गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS), निक्षेप सदस्य (Depository Participant- डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ।
गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।
प्रकाशित समय : १८:२४ बजे





















