भौतिक पूर्वाधार र यातायातमा सुशासनका लागि अधिकारीको संयोजकत्वमा सुझाव कार्यदल गठन
वि.सं.२०७९ माघ २० शुक्रवार
काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । मन्त्री श्रेष्ठले प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय बिज्ञका रूपमा डा. लिना गुरुङ सदस्य रहेका छन् । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर अर्जुनप्रसाद अर्याल सदस्य सचिव रहेका छन् ।
कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारी भित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र ब्यबस्थापन तथा इन्जिनियरिङ सेवा ब्यबस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रहि सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदललाई एक महिनाको समय दिइएको छ ।
सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासन मैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शुन्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका बिषयहरू प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको छ ।
प्रकाशित समय : १०:२५ बजे






















