अक्टोबर ७ मा लन्च हुने भयो हिरोको नयाँ इलेक्ट्रिक स्कुटर
वि.सं.२०७९ असोज ३ सोमवार
काठमाडौं । हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडा सब–ब्राण्डको नामबाट ७ अक्टोबर २०२२ मा लन्च गर्न लागेको छ । पहिलो पटक सो स्कुटर १ जुलाई २०२१ मा प्रस्तुत गरिएको थियो । यसको मूल्य करिब १ लाख भारु हुने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार कम्पनीले आफ्ना डिलर, लगानीकर्ता र विश्वव्यापी वितरकलाई सो स्कुटरको लन्चको लागि निमन्त्रणा पठाइसकेको छ । यसको लन्चिङ कार्यक्रम राजस्थानको राजधानी जयपुरमा आयोजना हुनेछ ।
हालसम्म कम्पनीले नयाँ हिरो इलेक्ट्रिक स्कुटरको स्पेसिफिकेसन्स र फिचरको बारेमा खुलासा गरेको छैन । भारतीय बजारमा लन्च भएपछि हिरोको इलेक्ट्रिक स्कुटरले टीभीएस आईक्युब, बजाज चेतक र अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरोको नयाँ ई–स्कुटर जयपुरको आर एन्ड डी हब सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजीमा विकास गरिएको हो र आन्ध्र प्रदेशमा रहेको कम्पनीको प्लान्टमा निर्माण गरिने छ ।
हिरोले दुई नयाँ ३०० सीसी बाइकमा पनि काम गरिरहेको छ । एक्सट्रिम एस र एक्सपल्सको परीक्षण भइरहेको छ । सो दुबै बाइक नयाँ प्लेटफर्ममा आधारित छ र हाई पावर आउटपुटको लागि ट्युन गरिएको ३०० सीसी इन्जिन प्रयोग गरिएको छ ।
हिरो एक्सट्रिम एस फुल फेयर्ड बाइक हुनेछ भने एक्सपल्स नयाँ एड्भेन्चर बाइक हुनेछ । परीक्षणका क्रममा देखिएका मोडलमा पेटल डिस्क, रेड ट्रेलिस फ्रेम, क्लच कभर, क्रोम फिनिस्ड साइड स्ट्यान्ड र स्विङआर्मसहितको फ्रन्ट स्पोक ह्विल समावेश छ ।
प्रकाशित समय : २२:०५ बजे




















