कोरोना बीमामा सरकारको राजनीति, चुनावको मुखैमा निकासा गर्यो १ अर्ब
वि.सं.२०७९ भदौ २९ बुधवार
काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।
कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ । कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।
बीमा समितिको तथ्यांक तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । बराबर बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा करीब १६ अर्ब रूपैयाँको दाबी परेको छ । १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।
कुल दाबीमध्ये हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् ।
कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।
प्रकाशित समय : ११:०२ बजे





















