जग्गा धितो कर्जामा कडाई, वर्गीकरण नगरे बैंकबाट कर्जा नपाईने: के छ अरु प्रोसेस ?
वि.सं.२०७९ जेठ ३१ मंगलवार
काठमाडौं । सरकारले जग्गा धितो राखेर कजा लिन नपाउने व्यवस्था गरेको छ । जग्गा धितो राखेर कर्जा लिनका लागि वर्गीकरण गरेको हुनुपर्ने भएको छ ।सरकारले कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको हो ।
भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीयको निर्णयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै जग्गा वर्गीकरण नगरेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयले वर्गीकरण निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू उपयोग परिषद्ले भू–उपयोग ऐन, र भू उपयोग नियामवाली, २०७९ ले तोकेको मापदण्ड आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने बताएको छ । सोही निर्णय बमोजिम स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्ने छ ।
बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट धितो बन्धक पारित हुने खेतीयोग्य जमिन र गैर कृषि क्षेत्रको वर्गीकरण गरेपछि मात्र लिखत पारित गर्नुपर्ने व्यवस्था मिलाएको हो । उक्त व्यवस्था अनुसार अब जग्गा धितो राखेर बैंकबाट कर्जा लिन गाह्रो हुने देखिएको हो ।
व्यक्ति, फर्म, कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भू उपयोग परिषद्ले निर्णय गरे बमोजिम स्थानीय तहबाट सिफारिस भई आएमा खेतीयोग्य भए भू उपयोग नियमावली, २०७९ को नियम १२ को उपनियम (१) अनुसार र गैर कृषि भए सोही नियमावलीको नियम १२ को उपनियम (२) अनुसारको क्षेत्रफलभन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्ने भइको हो ।

प्रकाशित समय : १८:५६ बजे





















