बजेटपछि साताको अन्तिम दिन : नेप्से दोहोरो अंकले घट्यो

वि.सं.२०८१ जेठ १७ बिहीवार

काठमाडौं । बजेटपछिको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ ।
साताको अन्तिम कारोबार दिन अर्थात् बजेटको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको हो ।
बजेटपछिको पहिलो कारोबार दिन बुधबार पनि नेप्से दोहोरो अंकले घटेको थियो ।
आज नेप्से १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३११ स्टकको ९८ लाख ६४ हजार कित्ता सेयर ६१ हजार ७२ पटक खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको भएको छ । हिजो ४ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको थियो ।
नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज युनिलिभर नेपालको सेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । पोखरा फाइनान्सको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत घटेको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ३.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक घटेको छ ।

प्रकाशित समय : १६:४९ बजे