माछापुच्छ्रे र लक्ष्मी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

वि.सं.२०७८ असार १७ बिहीवार

काठमाडौँ । माछापुच्छ्रे र लक्ष्मी बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई असार १५ गते र माछापुच्छ्रे बैंकलाई असार १६ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरले २० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ ।
जसमा ८ लाख इकाई सर्वसाधारणका लागि र बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले १० वर्ष अवधिको ‘० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री गर्नेछ । जसमा १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकको ऋणपत्रले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र बिक्री गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
२०७८ असार १७ गते प्रकाशित

प्रकाशित समय : ११:०७ बजे