सवाल जवाफ: सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत
वि.सं.२०८० चैत २० मंगलवार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पारे ।
नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराए ।
‘संविधानले गरेको व्यवस्था नै हो हरेक सरकारका लागि संविधानले व्यवस्था गरे बमोजिम संविधानले व्यवस्था गरेको नीति, निर्देशन, निर्देशक सिद्धान्तहरु, अन्य कानूनी व्यवस्थाहरु जे छन्, त्यो द्धारा नै सरकार निर्देशित हुने हो ।
अव अहिले हाम्रो संविधानले हामीलाई गरेको मार्गदर्शन, अहिलेको संवैधानिक व्यवस्था भनेको सरकार, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्रको साझेदारीमा आर्थिक विकास र समृद्धिको यात्रा गर्ने र समृद्धि हासिल गर्ने जो हाम्रो संवैधानिक व्यवस्था छ ।
त्यो संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु’, उनले भने ।
मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गरे ।
प्रकाशित समय : १५:२१ बजे






















