आयो फेरि काठमाडौँको धारामा मेलम्चीको पानी
वि.सं.२०७९ वैशाख ११ आइतवार
काठमाडौ। मेलम्चीको पानी आजबाट काठमाडौँका धारामा पुनः आउन सुरु गरेको छ । यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट आज (आइतबार) एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन् ।
मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए ।
त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको छ ।
प्रकाशित समय : ११:४५ बजे