औषधि पत्ता नलागेको रोग
लघुकथा

वि.सं.२०७८ फागुन ७ शनिवार

आकारमा ऊ अरुभन्दा सानो थियो, तर सबैको बीचमा थियो । उसलाई सबैले माया गर्थे । साँच्चै माया गर्थे कि आफ्नो स्वार्थका लागि माया गर्थे भन्ने कुरामा चाहिँ ऊ स्वयम् रणभुल्लमा थियो ।
उत्तर र दक्षिणतिरबाट उसलाई दुई ठूला मित्रले अँगालो हालेका थिए । उनीहरुले त्यसलाई “मित्रवत् अँगालो”को संज्ञा दिएका थिए । मित्रवत् अँगालो हाल्ने मित्रहरु बीचकोलाई तैँले बढी माया देखाउने कि मैले बढी माया देखाउने भन्ने प्रतिस्पर्धामा थिए । त्यसो त उत्तर र दक्षिणका मात्र होइन, पूर्व र पश्चिमकाहरु पनि मित्रता र सहयोगका पोकापुन्तुरा फाल्नमा त्यत्तिकै खरो प्रतिस्पर्धामा उत्रिएका थिए ।
मित्रता र सहयोगको यो रोचक प्रतिस्पर्धा देखेर बीचमा बसेर सहयोग लिइरहेको मित्र भने दंग थियो । आफूले जति अल्छी गरे पनि अरुले प्रतिस्पर्धात्मक सहयोग गरेकोमा ऊ आफ्नो अहोभाग्य ठान्थ्यो । काम नगरी माम खान पाउनु भनेको आफ्नो पूर्व जन्मकै कमाई हो भन्ने उसको बुझाइ थियो ।
एक दिन पश्चिमतिरकोले एउटा ठूलै सहयोगको पोको बीचतिर फाल्यो र भन्यो– “लौ मेरो पवित्र अमृतको पोको लेऊ । यो पोकोबाट तिमीले अजम्बरी प्राप्त गर्ने छौँ ।”
पश्चिमकाले अमृततुल्य अजम्बरी पोको फालेपछि उत्तरतिरको झस्कियो र भन्यो– “होसियार ! त्यो पोको नलेऊ । त्यो पोको अमृतको होइन, विषको हो । बिषले अजम्बरी प्राप्त हुँदैन, मृत्यु हात लाग्छ । बरु त्यो भन्दा राम्रो र ठूलो पोको म दिन्छु, त्यो लेऊ । पश्चिमतिरकाको पोको बहिष्कार गरिहाल ।”
उत्तरतिरकाले आफ्नो पोकोको बिरोध गरेको थाहा पाएपछि पश्चिमकाले फेरि बीचकोलाई भन्यो– “तैँले मेरो पोको लिनै पर्छ । नत्र ….. । नत्र फेरि …. ।
दक्षिणकाले बीचकोलाई फकाउँदै भन्यो– “मित्र ! आफूले काम नगरी माम पाउने गरी पश्चिमाले दिएको यत्रो ठूलो पोको लेऊ र बसीबसी खाऊ । बेकार किन काम गरेर खाने दुःख गर्छौ । बसीबसी खाऊ । हेर, तिमी सानो भए पनि तिम्रो पेट ठूलो छ । त्यो पोको नलिए तिमी अघाउँदैनौ । त्यसैले पोको लेऊ र अघाउँजी खाऊ । काम नगरी खान पाउने मौका नगुमाऊ ।”
काम नगरी खान पाउने कुराले बीचकोलाई एकातिर लोभ पलायो । अर्कातिर विष पो हो कि भने डरले कमायो । बीचको अलमलमा पर्यो । किंकर्तव्यविमुढ भयो । अनि उसले आफँैलाई सोध्न थाल्यो । आफ्ना अंगप्रत्यंगलाई सोध्न थाल्यो । पोको लिऊँ कि नलिऊँ ?
उसका अंगप्रत्यंगहरु बोल्न थाले । उसको एउटा आँखाले भन्यो– लेऊ, अर्कोले भन्यो– नलेऊ । एउटा कानले भन्यो– लेऊ, अर्को कानले भन्यो– नलेऊ । एउटा नाकको प्वालले भन्यो– लेऊ, अर्को प्वालले भन्यो– नलेऊ । एक मनले भन्यो– लेऊ, अर्को मनले भन्यो– नलेऊ । मुखले बिहान भन्यो– लेऊ, बेलुका त्यही मुखले भन्यो– खबरदार नलेऊ ।
बीचको मित्र पोको लिने कि नलिने भन्ने आफ्नै आन्तरिक द्वन्द्वमा पिल्सियो । लिने कि नलिने भनेर सोच्दासोच्दै ऊ बिरामी पर्यो । उसलाई अस्पताल पुर्याइयो । चिकित्सकले परीक्षण गर्दा उसलाई उत्तरआधुनिक प्रकृतिको “स्वार्थ” नाम गरेको रोग लागेको भन्ने पत्ता लाग्यो । जुन रोग सृष्टिको प्रारम्भदेखि नै भए पनि यतिबेला भने महामारिको रुपमा फैलिएको थियो ।
रोग लागेपछि उपचार त गर्नै पर्यो । चिकित्सकलाई सोधियो– “यस रोगको उपचारविधि के हो ? कुन औषधिले यो रोग निको हुन्छ ?” चिकित्सकले प्रेस्कृप्सनमा लेखिदियो– “स्वार्थ भन्ने रोगको अहिलेसम्म कुनै उपचारविधि पत्ता लागेको छैन, न त यसको औषधि नै पत्ता लागेको छ ।”

प्रकाशित समय : १९:४२ बजे