भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै
वि.सं.२०८० साउन २९ सोमवार
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ भदौदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्ने स्वीकृति पाएको थियो ।
जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई निष्कासन गरिसकेको छ ।
कम्पनीले स्थानीयलाई पनि प्रतिकित्ता १०० रुपैया अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँ प्रतिकित्ताको आईपीओ निष्कासन गरेको छ ।
यस्तै कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँको ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
जसमध्ये १० प्रतिशतले हुने ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कमपनीको आईपीओमा लगानीकर्ताले ८ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद १९ भदौसम्म थप हुनेछ ।
कम्पनीले कास्कीको पोखरा महानगरमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना जलविद्युत आयोजना निमार्ण गरी व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको र प्रतिमेगावाट अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलेको ‘मेरो सेयर’ सफेटवयर मार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १६:५३ बजे




















