मैलुङ खोलाको आईपीओ अर्काे साता बाँडफाँड हुने

वि.सं.२०७८ साउन २३ शनिवार

काठमाडौँ । मैलुङ खोला जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अर्को सातासम्म बाँडफाँड गरिसक्ने गरि तयारी भैरहेको जनाएको हो । प्रिअलटमेन्टको काम भैरहेकाले अर्को साता जुनसुकै बार पनि बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ढिलोमा शुक्रबारसम्म आईपीओ बाँडफाँड हुने भएको हो ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागी आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट बाँडफाँड गरिनेछ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६८ हजार ४७४ जनाले मात्रै कम्पनीको आईपीओ पाउनेछन् । त्यसैले आवेदन दिएका लगानीकर्ताहरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि हुने छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
२०७८ साउन २३ गते प्रकाशित

प्रकाशित समय : ०६:१० बजे