तेह्रथुम पावरको आईपीओ साउन ५ बाट निष्कासन हुने

वि.सं.२०७८ असार २८ सोमवार

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले पहिलो चरणको साधारण सेयर आयोजना प्रभावित क्षेत्रका लागि साउनबाट जारि गर्ने भएको छ । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरले कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आईपीओका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
स्थानीयका लागि निष्कासन गरिएको आईपीओको निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गते हुने भनिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले गत असार १० गते यो कम्पनीलाई कुल १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेको कम्पनीले बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्नेछ।
आईपीओ बिक्रीबाट प्राप्त रकम तेह्रथुम जिल्लामा निर्माणाधीन ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्टमा लगानी गरिने कम्पनीले जनाएको छ।
२०७८ असार २८ गते प्रकाशित

प्रकाशित समय : ०५:३२ बजे