पछिल्लो तथ्याङ्क : जेनजी आन्दोलनमा क्षति पुगेका घरधनीलाई सवा तीन अर्ब भुक्तानी, गाडी जल्नेले पाए १ अर्ब
आन्दोलनबाट २३ सय बढी सवारीमा क्षति
वि.सं.२०८२ मंसिर २८ आइतवार
काठमाडौं । जेनजी आन्दोलनबाट घर तथा भवनमा क्षति पुगेका बीमितहरुले सवा तीन अर्ब बढी भुक्तानी पाएका छन् ।यो नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले हो ।
ओन्दलनबाट ७१० वटा घर तथा भवनमा क्षति पुगेको भन्दै बीमा कम्पनीहरुमा दावी पेश भएका छन्। प्राधिकरणका अनुसार सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको दावी परेको छ । तर, हालसम्म भने कम्पनीहरुले ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ भुक्तानी बीमितलाई दिएका छन् ।
सोही आन्दोलनबाट २३ सय बढी सवारीमा क्षति पुगेको विवरण छ । प्राधिकरणका अनुसार मोटर बीमा अन्तर्गत २ हजार ३०८ वटा दावी पेश भएको छ । ३ अ र्ब ४७ करोड ५३ लाख रुपैयाँ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेनजी आन्दोलनबाट सवारीसाधानमा क्षति पुगेका बीमितहरुले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी पाएका छन् ।
प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीहरुमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ बराबरको ३ हजार ३०० वटा दावी पेश भएका छन् । त्यसमा कुल ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । हालसम्म कम्पनीहरुले कुल दावीमा १८.७० प्रतिशत भुक्तानी दिएका हुन् । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५५ करोड ५५ लाख रुपैयाँ बराबरको २२५ वटा दावी परेको छ । त्यसमा कम्पनीहरुले ६ करोड ८१ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
यता, परिवहन बीमा अन्तर्गत पनि बीमितले ६६ लाख रुपैयाँ पाएका छन् । यस्तो बीमा अन्तर्गत कुल १ करोड ६८ लाख रुपैयाँ बराबरको १२ वटा दावी पेश भएको थियो । अन्य बीमा अन्तर्गत पनि ३८ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दावी परेको छ । तर, कम्पनीहरुले यस बीमा तर्फ ४९ लाख रुपैयाँ मात्रै भुक्तानी बीमितलाई दिएका छन् ।
प्रकाशित समय : १९:२५ बजे




















