गण्डकी प्राविधिक शिक्षालयको विकासका लागि कोरियाको १ अर्ब २५ करोड सहयोग

वि.सं.२०८२ भदौ ४ बुधवार

काठमाडौं । ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास’ परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र कोरिया गणतन्त्र सरकारबीच सम्झौतामा भएको छ ।
बुधबार नेपाल सरकार र कोरिया गणतन्त्र सरकारबीच ९ मिलियन अमेरिकी डलर (करिव १ अर्ब २५ करोड) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र कोरिया गणतन्त्र सरकारको तर्फबाट नेपालस्थित राजदूत पार्क ते–यङले हस्ताक्षर गरेका हुन् ।
सोही क्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोरियाले लामो समयदेखि नेपालकै शिक्षा क्षेत्रलाई सहयोग गर्दै आएको भन्दै सम्झौता भएको योजनाको लागि नेपालको तर्फबाट पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘कोरियाले धेरै लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । र अहिले आएको अनुदानलाई पनि सफलता पूर्वक कार्यान्वयन गर्न र योजनालाई पूरा गर्न सहयोग गर्न आग्रह पनि गर्न चहान्छु ।’
उनले उक्त परियोजनाको कार्यान्वयन निकाय कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेशनल को–अपरेशन एजेन्सी रहनेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान रहने जानकारी पनि दिएको छ । सो परियोजना सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित समय : १७:४९ बजे