back
Naima

औद्योगिक क्षेत्रको विकासका अप्ठ्यारा र समृद्धिको बाटो : दामोदर भण्डारी

मूूल्यवृद्धिको चापदेखि औद्योगिक पूर्वाधारको विकास र स्रोत अभाव समस्याका कारण व्यावसायिक वा उद्योगमैत्री वातावरण बन्न सकिरहेको छैन ।

नेपालमा औद्योगिक क्षेत्रको वृद्धि निकै सुस्त छ । औद्योगिक क्षेत्रले गति लिन चाहिने वातावरण बन्न नसकेको भनेर धेरै तिरबाट चासो र चिन्ता जाहेर पनि भइरहेको छ । तर, अघि बढिरहेको छैन । आर्थिक समृद्धिका लागि औद्योगिक विकास अपरिहार्य छ । उद्योगमैत्री वातावरण बनाउन सरकारकै (विशेषतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको) मुख्य भूमिका हुन्छ भने अन्य निकायहरू र आमसर्वसाधारणको पनि त्यतिकै भूमिका रहन्छ । त्यसका लागि उद्योग क्षेत्रमा रहेका विभिन्न समस्या, चुनौती र अवसरहरूलाई पहिचान गर्न आवश्यक छ । समस्याहरूको पहिचान र समाधानका उपायहरू सुुझिसकेपछि यस क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । उद्योग मन्त्रालय औद्योगिक क्षेत्रको विकास, समृद्धि र उपयुक्त वातावरण बनाउने प्रयासमा लागिरहेको छ ।

बिग्रिएको औद्योगिक वातावरण सुधार्नैका लागि दुई ठुला दल मिलेर वर्तमान सरकार गठन भएको हो । नयाँ सरकार बनेपछिको पहिलो सय दिनमा मन्त्रालयको अग्रसरता र समन्वयमा आपूर्ति व्यवस्थापनलाई सहज बनाउन, उपभोक्ता हित संरक्षण, औद्योगिक पूर्वाधार निर्माण, वैदेशिक लगानी तथा व्यापार सहजीकरण र उद्यमशीलता प्रवर्धनको क्षेत्रमा प्रगति हासिल गर्ने आधार तयार भएको छ ।

औद्योगिक क्षेत्रका समस्याहरू
आर्थिक संकुचनको प्रभाव सबैभन्दा बढी औद्योगिक क्षेत्रमा परेको छ । त्यसको मार अहिलेसम्म पनि कायम छ । आन्तरिक उत्पादनदेखि र आयातित वस्तुसम्म र दैनिक उपभोग गर्ने खाद्यान्नसम्म आर्थिक संकुचनको प्रभाव देखिएको छ । मूूल्यवृद्धिको चापदेखि औद्योगिक पूर्वाधारको विकास र स्रोत अभाव समस्याका कारण व्यावसायिक वा उद्योगमैत्री वातावरण बन्न सकिरहेको छैन । लामो समयदेखि रुग्ण तथा आंशिक सञ्चालनमा रहेका उद्योगहरूलाई निजीकरण गर्न सकिएको छैन भने पुनः सञ्चालनमा ल्याउन पनि सकिएको छैन । पछिल्लो समय रुग्ण उद्योगहरूलाई सञ्चालन गर्ने प्रक्रियामा थुप्रै भ्रम छर्ने काम बाहिरी रूपमा भइरहेको छ । जसले गर्दा मानिसहरूमा नराम्रो सन्देश प्रवाह भइरहेको छ । गत भदौमा हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन गरेको थियौँ । सरकारको नीति तथा कार्यक्रममै उद्योगहरूलाई सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ र सरकार लागि पनि रहेकै छ । सरकारी संस्थानहरू सरकारी संस्थानहरू आफैंले चलाउने कि निजीकरण गर्ने भनेर लामो समयदेखि बहस भइरहे पनि टुंगो लागिरहेको छैन ।

अर्कोतिर सरकारले विभिन्न समयमा घोषणा गरेका कतिपय सहुलियत अनुदानहरू स्रोत अभाववका कारण दिन सकिरहेको छैन । सरकारले बजेटमार्फत तोकिएका स्वदेशी उत्पादनहरू वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यक्रम अघि सा¥यो । तर, कार्यान्वयन पक्षमा सरकार चुक्यो । निर्यातमा नगद अनुदान दिने कार्यविधिहरूका विभिन्न जटिलताले अनुदान रोकिएको स्थितिका कारण सरकारी घोषणाहरूको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।

सरकारले आर्थिक वर्ष ०६/७० देखि नेपाली उत्पादनलाई प्रोत्साहन गर्न नगद अनुदान दिन सुरु गरेकामा ०८०/८१ सम्म ७ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ स्वदेशी उत्पादन निर्यातकर्ताहरूलाई भुक्तानी दिइसकेको पनि छ । बाँकी भुक्तानी दिन अग्रसर भइरहेकै छ । सबैले पाउन नसकेको स्थिति अन्त्य गर्न सरकार लागिरहेको छ । समयमा भुक्तानी नहुँदा उद्योगीहरूको विश्वास जित्न सरकारलाई गाह्रो हुने र व्यावसायिक वातावरणमा पनि असर पर्ने सम्भावना रहन्छ । सरकारले गर्ने काम ढिलाइ हुँदा कतिपय व्यावसायिक क्षेत्रले अविश्वासका रूपमा लिने गर्छन् ।

सरकारले उच्च मूल्य अभिवृद्धि हुने वस्तु तयारी पोसाक गलैँचा, पस्मिना, छाला जुत्ता, चप्पल, कफी, फेल्ट, हातेकागज, अलैँची, अदुवा, चिया, जडीबुटीलगायत र उच्च मूल्य कम आयतन भएका वस्तु उत्पादन र निर्यात प्रवर्धनका लागि अनुदान दिँदै आइरहेको छ । निर्यात अनुदान दिनुुपर्ने वस्तुुहरूभित्र अरू उत्पादन पनि थप्नुुपर्ने माग आइरहेको छ । सरकार थप परिवेश अध्ययन गरेर कार्यविधि बनाउन लागिरहेको छ ।

निर्यात अनुदान र कार्यविधिका समस्या
निर्यातकर्ताहरूलाई अनुदान दिने एउटा व्यवस्थित प्रक्रिया छ । त्यसका लागि भन्सार विन्दुबाट निर्यात भइसकेको प्रमाणसहित उद्योग विभागमा निवेदन दिनुपर्छ । विभागले प्राप्त निवेदनका आधारमा वास्तविकता अध्ययन गरी निर्यात प्रमाणित गरेर तोकिएको बैंकलाई पत्राचार गर्छ । बैंकले पनि नेपाल राष्ट्र बैंकबाट शोधभर्ना माग्छ । त्यसपछि निर्यातकर्तालाई बैंकले अनुदानको रकम उपलब्ध गराउँछ । यो प्रक्रिया सामान्यजस्तो देखिए पनि निर्यातकर्ताका लागि विभिन्न कागजी झन्झट हुँदै आएको छ । विगतमा कृषि अनुदान लिन निकै झन्झटिलो प्रक्रिया रहेको भन्दै कृषकहरूले गुनासो गरेका थिए ।
यसअघि घोषित ८ प्रतिशत नगद अनुदानलाई घटाएर ५ प्रतिशतमै सीमित गर्ने तयारी भइरहेको छ । सरोकारवालाहरूसँग छलफलमा पनि अधिकतम ५ प्रतिशतसम्म अनुदान दिन सकिने निष्कर्ष निस्केको छ । यसअघि स्पष्ट नभएका विषयहरूलाई स्पष्टता दिँदै कार्यविधि संशोधन प्रक्रियामा छ । अब छिटै मन्त्रिपरिषद्ले पारित गरेपछि सतहमा देखिएका अनुुदानसम्बन्धी धेरै समस्या स्वतः समाधान भएर जान्छन् ।

समाधान
आर्थिक संकुचनमा परेको औद्योगिक क्षेत्रलाई सहज वातावरण प्रवेश गराउनुु अहिलेको सबैभन्दा ठुलो चुनौती हो । सबै संकटबाट बाहिर निस्किन सबैभन्दा पहिला उद्योग क्षेत्रको मनोबल बढाउन आवश्यक छ । उद्योगीहरूको मनोबल बढेपछि मात्रै औद्योगिक क्षेत्रको विकास हुन सक्छ । त्यसैले सरकारले उद्योग क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ । औद्येगिक मनोबल कायम राख्न सरकारले एउटा योजनाअगाडि बढाउँदै छ । सरकारसँग स्रोतको सीमितता रहेकाले निजी क्षेत्रका लगानीकर्ताहरूलाई औद्योगिक पूर्वाधारहरू निर्माण गर्न आह्वान गरिरहेको अवस्था छ । सरकारले औद्योगिक पूर्वाधारका रूपमा रहेका जमिन, बाटो, विद्युत्, पानीलगायत विषयमा आएका गुनासा सम्बोधन गर्ने पहल गरिरहेको छ । सहुलियत र अनुदानका समस्या त कार्यविधि आएसँगै टुुंगिन्छ ।

अर्कोतिर सरकारले सार्वजनिक संस्थानहरू सञ्चालनको प्रारूप (मोडालिटी) का विषय छलफल गरिरहेको छ । त्यस्तै, रुग्ण उद्योगहरूको अवस्था अध्ययन गरिरेको छ । विगतका अध्ययन प्रतिवेदन र अहिले प्राप्त सुुझावका आधारमा सार्वजनिक संस्था र रुग्ण उद्योग सञ्चालनका लागि एउटा विधि बनाएर आगामी दिनमा कुनै किसिमको समस्या नआउने गरी अघि बढ्ने बाटोमा सरकार लागिरहेको छ ।

कुनै पनि काम अघि बढाउनुुअघि विनाजानकारी घोषणा गरेर मात्रै समाधान निकाल्न सकिँदैन । कुनै पनि उद्योग व्यवसायको वास्तविक धरातल, योगदान र आगामी दिनमा प्रदर्शन गर्न सक्ने परिणामजस्ता विषयलाई हेरेर मात्र अघि बढ्ने मनस्थितिमा सरकार छ । त्यसैले उच्चस्तरीय अध्ययन समिति बनाएर देशभरका रुग्ण उद्योगहरूको अवस्था बुुझेर सञ्चालन मोडालिटी तयार हुन्छ । उद्योग मन्त्रालय मातहत सञ्चालनमा रहेकामध्ये बन्द तथा आंशिक सञ्चालित ९ वटा रुग्ण उद्योगको अद्यावधिक विवरण अर्थ मन्त्रालय (संस्थान समन्वय महाशाखा) मा पठाइएको छ । रुग्ण उद्योग पुनः सञ्चालन गर्न सकियो भने राज्यको दायित्व कम हुनुुका साथै रोजगारी सिर्जनामा सहयोग मिल्छ । यसबाट आन्तरिक उत्पादन बढ्न गई मुलुुक आत्मनिर्भर हुने बाटोमा अग्रसर हुुन्छ ।

अबको कार्यदिशा
सबैभन्दा पहिला आन्तरिक तथा बाह्य लगानीकर्ताहरूलाई लगानीयोग्य वातावरण भन्ने महसुस गराउन सरकार क्रियाशील छ । त्यसैले सरकारको पहिलो प्राथमिकता नीतिगत सुधारमा केन्द्रित छ । उद्योग मन्त्रालयले अन्तरमन्त्रालय समवन्य गरी निजी क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने ऐन परिमार्जनको माग अघि बढाएको छ । त्यस्तै, सबै प्रदेशमा औद्योगिक क्षेत्रको विकास गर्न औद्योगिक पूर्वाधार निर्माण सरकार केन्द्र्रित छ । यसले देशको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको बेरोजगारी हटाउन र आन्तरिक उत्पादनमा वृद्धि गरी आयात निर्भर अर्थतन्त्रबाट बाहिर निकाल्न सहयोग गर्नेछ । औद्योगिक पूर्वाधार निर्माण भएर वस्तुु उत्पादन सुरु भएसँगै उत्पादित वस्तुको बजारीकरणका क्षेत्रमा काम गर्नुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीबाट सक्दो प्रतिफल निकालेर मुलुुकमा व्यावसायिक वातावरण निर्माणमा हरदम प्रयास हुनेछ ।

सरकारी स्वामित्ववमा रहेका औद्योगिक संथानहरू निजी क्षेत्रलाई दिएर सञ्चालनमा ल्याउनुपर्छ भन्ने विषय सरकार स्पष्ट छ । उद्योगहरूको जग्गा यथावत् राखेर (नबेची) सञ्चालन प्रारूपमा छलफल भइरहेको छ । उद्योगहरू सधैं बन्द गरेर राखेर पनि हुँदैन । उद्योगअन्तर्गतको ९ वटा सार्वजनिक संस्थानहरूको दायित्व नै झन्डै एक खर्ब रुपैयाँ छ र यो दायित्व निरन्तर थपिँदै गएको छ । कैयौँ कर्मचारी काम नगरी तलब खाइरहेका छन् । निरन्तर घाटामा गइरहेका संस्थानहरू सरकारमाथि भार थप्ने माध्यम बनिरहेका छन् । त्यसैले रुग्ण उद्योगहरूलाई सकेसम्म सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा र प्राथमिक निष्कासनमार्फत पुँजी जुटाइ अघि बढ्ने विषयमा घनिभूत छलफल भइरहेको छ । अब ढिला गरेर हुँदैन, परिणाम देखिने छिटै निष्कर्षमा पुुग्नुुपर्छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा १० उद्योगलाई स्थापना गर्न प्लट (जग्गा) अनुमति दिइसकिएको छ । ती उद्योगबाट कुल तीन अर्ब ४४ करोड रुपैयाँ लगानी भई तीन हजार पाँच सय २३ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता आएको छ । त्यस्तै, सिमरा विशेष आर्थिक क्षेत्रमा १५ उद्योगलाई स्थापनाका लागि प्लट (जग्गा) अनुमति दिइएको छ । ६ अर्ब ८४ करोड रुपैयाँ लगानी र एक हजार दुई सय ८७ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता आएको छ । सिमरामा प्लट अनुमति दिइएकामध्ये सातवटा उद्योगसँग उद्योग सञ्चालन सम्झौतासमेत भइसकेको छ ।

त्यस्तै, वस्तु, सेवा र प्रक्रियाको गुणस्तर निर्धारण गर्ने संस्थाहरूको कामको स्तर निर्धारण तथा प्रमाणीकरण गर्ने उद्देश्यले नेपाल ‘एक्रिडिटेसन सेन्टर’ स्थापना भई सञ्चालनमा छ । उद्योग विभागबाट तोकिएको क्षेत्रमा ५० करोड रुपैयाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी स्वचालित मार्ग (अटोमेटेड रुट) बाट स्वीकृत हुन थालेको छ । यसले लगानी सहजीकरण हुनुका साथै लगानीकर्ताको समय र लागत घट्ने विश्वास गर्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...