प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो
वि.सं.२०८३ साउन २६ मंगलवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको प्रवद्र्धन गरेपछि बिक्रीमा आएको सुधारले संस्थानको वित्तीय अवस्थासमेत सुधारिन थालेको छ । पछिल्लो तीन महिनामा डीडीसीले कृषकलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा झारेको जनाएको छ ।
लामो समयदेखि नगद अभाव, मौज्दात बढ्दो र कृषक भुक्तानीमा ढिलाइको समस्याबाट जुधिरहेको डीडीसीले आन्तरिक सुधार, खर्च नियन्त्रण र आक्रामक बजारीकरणमार्फत सकारात्मक नतिजा हासिल गर्न थालेको हो ।
प्रधानमन्त्री शाहले गत जेठ २ गते सामाजिक सञ्जाल फेसबुकमार्फत डीडीसीको चिजको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गरेका थिए । त्यसपछि डीडीसीका उत्पादनप्रति उपभोक्ताको चासो बढेको र बिक्रीमा उल्लेख्य सुधार आएको संस्थानका अधिकारीहरू बताउँछन्। प्रधानमन्त्रीको अभियानलाई कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले समेत साथ दिएकी थिइन् ।
डीडीसीका अनुसार संस्थानमा लामो समयदेखि थन्किएको करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखनको मौज्दात क्रमशः बजारमा पठाउन सफल भएको छ । मौज्दात घटेसँगै नगद प्रवाहमा सुधार आएको र त्यसको प्रत्यक्ष प्रभाव कृषक भुक्तानीमा परेको संस्थानले जनाएको छ ।
केही महिनाअघि दैनिक करिब ६० लाख रुपैयाँ रहेको बिक्री आम्दानी हाल ९० लाख रुपैयाँको हाराहारीमा पुगेको छ । बिक्रीबाट प्राप्त अतिरिक्त आम्दानी कृषकलाई भुक्तानी गर्न केन्द्रित गरिएको डीडीसीको भनाइ छ ।
विगतमा सात महिनासम्म पुगेको कृषक भुक्तानीको प्रतीक्षा अवधि हाल दुईदेखि तीन महिनामा झरेको छ । संस्थानले अब यसलाई एक महिनाभित्र सीमित गर्ने लक्ष्य राखेको जनाएको छ ।
संस्थानले कृषक भुक्तानीलाई प्राथमिकतामा राख्दै अनिवार्यबाहेकका खर्च कटौती गरेको छ भने बक्यौता असुलीलाई पनि तीव्रता दिएको छ । लामो समयदेखि उठ्न बाँकी रकम संकलनमा सक्रियता बढाइएकाले वित्तीय दबाब कम हुन थालेको जनाइएको छ ।
बजार विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौं उपत्यकामा आठ वटा डेडिकेटेड सेल्स काउन्टर सञ्चालनमा ल्याइएको छ । यी बिक्री केन्द्रले डीडीसीका उत्पादनलाई उपभोक्तासम्म सहज रूपमा पु¥याउन र बिक्री वृद्धि गर्न सहयोग पु¥याएको संस्थानको दाबी छ । डीडीसीले हालको सुधारलाई दीगो बनाउँदै उत्पादनको बजार विस्तार, मौज्दात व्यवस्थापन र कृषकलाई समयमै भुक्तानी सुनिश्चित गर्ने योजनामा काम गरिरहेको जनाएको छ ।
प्रकाशित समय : ०९:५२ बजे






















