अपुष्ट सूचना र हल्लाको पछि नलाग्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अनुरोध
वि.सं.२०८३ साउन २८ बिहीवार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपर मुद्दा दायर भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले मिति २०८३ श्रावण २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि किसिमको अवरोध सिर्जना नभएको स्पष्ट पारेको छ।
बैंकको शीर्ष नेतृत्व तथा व्यवस्थापन यथावत रहेको र संस्थाको सबलता, समग्र ग्राहकवर्गको हित एवं समग्र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई मुख्य केन्द्रमा राखेर सम्पूर्ण बैंकिङ्ग सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्वाध रूपमा सञ्चालन भइरहनेमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई पूर्ण विश्वस्त गराएको छ।
यसैगरी बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र मुलुकको वित्तीय स्थायित्व कायम राख्नका लागि सम्बन्धित सम्पूर्ण निकायहरूबाट आवश्यक समन्वय तथा सहयोगको अपेक्षा गर्दै बैंकले सो सम्बन्धी हार्दिक अनुरोध समेत गरेको छ।
बैंकका विषयमा बजारमा आएका अपुष्ट सूचना, भ्रामक हल्ला तथा अनुमानका आधारमा कुनै पनि धारणा नबनाई आधिकारिक सूचना र माध्यमलाई मात्र आधार बनाउन बैंकले समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा विशेष आग्रह गरेको छ। साथै बैंकले आफ्ना ग्राहक तथा लगानीकर्ताहरूबाट निरन्तर प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको छ।
प्रकाशित समय : १३:४७ बजे






















