गुगलले सार्वजनिक गर्यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा
वि.सं.२०८३ साउन ३१ आइतवार
काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो ।
नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा दिइएको छ ।
डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक छैन । यद्यपि गुगलले नयाँ सिरिजमा फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याकलगायत नयाँ रङ थपेको छ ।
पिक्सेल ११ मा क्यामेरामा ठूलो सुधार
पिक्सेल ११ मा क्यामेरा प्रणालीमा उल्लेख्य सुधार गरिएको छ । यसको क्यामेरा बम्प अघिल्लो पिक्सेल १० को तुलनामा ४० प्रतिशतभन्दा बढी पातलो बनाइएको छ । फोनको पछाडिको भागमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १०.८ मेगापिक्सेलको ५एक्स टेलिफोटो क्यामेरा रहेको छ । अगाडि १०.५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
गुगलका अनुसार ४८ मेगापिक्सेलको मुख्य क्यामेराले अघिल्लो मोडलको तुलनामा ५६ प्रतिशत बढी प्रकाश ग्रहण गर्न सक्छ । ५एक्स टेलिफोटो क्यामेराबाट ३० एक्ससम्म सुपर जुम गर्न सकिने कम्पनीले जनाएको छ ।
पिक्सेल ११ को ब्याट्रीले ३० घण्टाभन्दा बढी चल्ने दाबी गरिएको छ । वायरलेस चार्जिङ पनि पिक्सेल १० को तुलनामा २५ प्रतिशत छिटो हुने बताइएको छ ।
पिक्सेल ११ को सुरुवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ । अघिल्लो मोडलभन्दा मूल्य १०० डलर बढे पनि नयाँ मोडलको आधारभूत भेरियन्टमै २५६ जीबी स्टोरेज र १२ जीबी ¥याम उपलब्ध हुनेछ । फोन अगस्ट २० देखि बजारमा आउनेछ ।
प्रो मोडलमा ‘हाइलाइट’ फिचर
पिक्सेल ११ प्रो र पिक्सेल ११ प्रो एक्सएलमा क्यामेरा बारमै नयाँ ‘हाइलाइट’ नामक एलईडी इन्डिकेटर राखिएको छ । यसले जेमिनी एआईसँगको अन्तरक्रिया तथा महत्वपूर्ण सम्पर्कबाट आउने कललगायतका गतिविधिको संकेत दिनेछ ।
गुगलले भविष्यमा यस एलईडीलाई थप कार्यका लागि प्रयोग गर्ने जनाएको छ । बारम्बार सम्पर्कमा रहने व्यक्तिबाट आउने म्यासेजको सूचना दिनेसम्म यसको क्षमता विस्तार गरिने कम्पनीको भनाइ छ ।
पिक्सेल ११ प्रोको डिस्प्ले अधिकतम ३,६०० निट्ससम्म चम्किनेछ । यसमा टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा दिइएको छ । टेलिफोटो क्यामेराबाट १२० एक्ससम्म प्रो जुम गर्न सकिनेछ । सेल्फीका लागि ४२ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
प्रो सिरिजले ३० घण्टाभन्दा बढी ब्याट्री ब्याकअप दिने र अघिल्लो पिक्सेल १० प्रो तथा प्रो एक्सएलको तुलनामा वायरलेस चार्जिङ २९ प्रतिशतभन्दा बढी छिटो हुने गुगलले जनाएको छ ।
पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १,०९९ अमेरिकी डलर र प्रो एक्सएलको १,२९९ अमेरिकी डलर तोकिएको छ । दुवैको आधारभूत भेरियन्टमा २५६ जीबी स्टोरेज र १२ जीबी ¥याम हुनेछ । ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा १६ जीबी ¥याम उपलब्ध हुनेछ ।
फोल्डेबल फोनमा पनि अपग्रेड
गुगलले नयाँ पिक्सेल ११ प्रो फोल्ड पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसमा पिक्सेल सिरिजकै अहिलेसम्मकै पातलो बेजल प्रयोग गरिएको छ । पिक्सेल १० प्रो फोल्डको तुलनामा नयाँ मोडल तीन गुणा बढी टिकाउ रहेको गुगलको दाबी छ । फोनमा आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स दिइएको छ । पछाडिको सामग्री पनि फुट्न निकै कठिन हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
फोल्डको दुवै डिस्प्ले अघिल्लो पुस्ताको तुलनामा २० प्रतिशत बढी चम्किलो छन् । भित्री डिस्प्लेले ३,६०० निट्ससम्म ब्राइटनेस दिन सक्छ । यसमा पनि टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ र २४ घण्टासम्मको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ । क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ । टेलिफोटो क्यामेराबाट ३०एक्ससम्म सुपर जुम गर्न सकिनेछ ।
पिक्सेल ११ प्रो फोल्डको सुरुवाती मूल्य १,८९९ अमेरिकी डलर तोकिएको छ । यसमा २५६ जीबी स्टोरेज र १६ जीबी ¥याम हुनेछ । यो फोन ओलिभ र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ । अघिल्लो मोडलको तुलनामा यसको मूल्य पनि १०० अमेरिकी डलरले बढाइएको छ । एएनआई
प्रकाशित समय : २०:५८ बजे






















