back
himalayan life

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो । आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन् ।

काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका प्रमुख चक्रवर्ती पौडेल डीडीसीले आफ्नो गुणस्तरमा विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्राण्डिङमा अझै पछि परिरहेको स्वीकार्छन् । हाल बजारमा देखिएको खुला दुधको दबदबा र बढ्दो मागलाई सम्बोधन गर्न संस्थानले अब परम्परागत शैली त्यागेर आधुनिक बजारीकरण र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको पौडेल बताउँछन् ।

संस्थानले लामो समयदेखि कुनै पनि औपचारिक विज्ञापन वा मार्केटिङ अभियान सञ्चालन गरेको छैन । उपभोक्ताको मनमा रहेको विश्वास स्वतःस्फूर्त रूपमा बनेको हो, जसलाई रणनीतिक रूपमा व्यावसायिक ब्राण्डिङमा परिणत गर्न सकिएको छैन ।

डीडीसी अब बदलिँदो बजार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आक्रामक ब्रान्डिङ, विज्ञापन र बजार प्रवद्र्धनमा केन्द्रित हुने तयारीमा जुटेको छ ।

‘वास्तवमा हामी चुकेको क्षेत्र नै मार्केटिङ हो। आफ्ना उत्पादनको व्यवस्थित विज्ञापन गरेकै छैनौं । उपभोक्ताले सरकारी संस्था भएकाले गुणस्तरमा विश्वास गरेर उत्पादन खरिद गरिरहेका छन्। त्यही विश्वासकै आधारमा डीडीसी टिकिरहेको छ,’ उनले  कुराकानीमा भने।

उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा डीडीसीको याक चिज खाएको फोटो पोष्ट गर्नुका साथै सार्वजनिक कार्यक्रममा, मन्त्रिपरिषदको बैठकहरुमा डीडीसीको दुग्धजन्य सामाग्रीको उपभोगले भने संस्थानले ब्रान्डिङको शक्ति प्रत्यक्ष रूपमा अनुभव गरेको छ।

‘प्रधानमन्त्रीज्यूले याक चिज खाइसकेपछि हाम्रो आउटलेटहरूमा पहिलेको तुलनामा लगभग दोब्बर अनुपातमा बिक्री भइरहेको छ । त्यसपछि पनि ब्रान्डिङ र मार्केटिङ कति आवश्यक रहेछ भन्ने अझ स्पष्ट भएको छ,’ पौडेलले बताए ।

उनका अनुसार अहिले डीडीसीमा नयाँ नेतृत्व आएको छ र नयाँ महाप्रबन्धकले पनि विज्ञापन तथा बजार विस्तारलाई प्राथमिकतामा राखेका छन्।

केन्द्रीय कार्यालयले विज्ञापनका लागि बजेट छुट्याउने, होर्डिङ बोर्ड राख्ने, प्रचारात्मक अभियान सञ्चालन गर्ने तथा ब्रान्डलाई नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

विश्वास थियो, प्रचार थिएन

डीडीसीका उत्पादन वर्षौंदेखि नेपाली उपभोक्तामाझ गुणस्तरका कारण परिचित छन्। दूध, दही, घिउ, मक्खन, पनिरदेखि याक चिजसम्मका उत्पादनलाई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्दै आएका छन्। तर निजी डेरी उद्योगहरूले बजारमा आक्रामक प्रचार, आकर्षक प्याकेजिङ र वितरण प्रणाली विस्तार गरिरहँदा डीडीसी भने परम्परागत शैलीमै सीमित रह्यो।

पौडेलका अनुसार संस्थानले गुणस्तरलाई प्राथमिकता दिए पनि त्यसलाई उपभोक्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा प्रतिस्पर्धामा पछि परेको हो।

उनले भने, ‘हामीले उत्पादन बनायौं, बिक्री पनि भइरह्यो, तर बजारमा गएर आफ्नो ब्रान्डलाई स्थापित गर्ने काम भने गर्न सकेनौं।’

खुला दूधले बढायो चुनौती

डीडीसीका अनुसार बजारमा सबैभन्दा ठूलो चुनौती अहिले खुला रूपमा बिक्री हुने दूध र दुग्धजन्य पदार्थबाट आएको छ।

बजारमा प्लास्टिकमा रबरले बाँधेर बिक्री गरिने खुला दूध र दुग्धजन्य पदार्थले गुणस्तरका मापदण्ड पालना गर्ने उद्योगहरूलाई ठूलो चुनौती दिएको पौडेलले बताए । उनका अनुसार यसले स्वस्थ प्रतिस्पर्धी वातावरणलाई बिथोलेको छ ।

करिब एक दशकअघि प्याकेज्ड दूधको बजारमा डीडीसीको हिस्सा करिब ४० प्रतिशत रहेको अनुमान गरिन्थ्यो।

पौडेलका अनुसार हालै खाद्य तथा दुग्ध प्रविधिसम्बन्धी एक सम्मेलनमा प्रस्तुत जानकारीअनुसार अहिले डीडीसीको बजार हिस्सा करिब २० प्रतिशत हाराहारीमा झरेको अनुमान गरिएको छ भने करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको देखिएको छ । तर अहिले आधिकारिक सर्वेक्षण गरिएको छैन । यसले गर्दा नीति निर्माणमा समेत अन्योल सिर्जना भएको छ ।

उनका अनुसार उपभोक्ताले मूल्यका आधारमा खुला दूध रोजे पनि त्यसको गुणस्तर, सुरक्षा र मापदण्डबारे पर्याप्त निगरानी आवश्यक रहेको उनको धारणा छ।

मोहीमा बढ्दो आकर्षण

डीडीसीले पछिल्लो समय सबैभन्दा बढी माग बढेको उत्पादनका रूपमा मोहीलाई लिएको छ । स्वास्थ्यप्रति बढ्दो सचेतना र चिनी मिसाइएका पेय पदार्थको विकल्प खोज्ने प्रवृत्तिका कारण मोहीको माग उल्लेख्य रूपमा बढेको पौडेल बताउँछन् ।

‘सामाजिक कार्यक्रमहरूमा पनि अहिले कोल्ड ड्रिङ्क्स वा पेय प्रदार्थभन्दा मोही प्रयोग गर्ने चलन बढेको छ । स्वास्थ्यका हिसाबले पनि मोही राम्रो विकल्प भएकाले यसको व्यापार उल्लेख्य रूपमा बढेको छ,’ उनले भने।

तर सीमित उत्पादन क्षमता र जनशक्तिका कारण अहिले पनि मागअनुसार बजारमा मोही उपलब्ध गराउन नसकिएको उनले स्वीकार गरेका छन् ।

उनले भने, ‘मोहीको डिमान्ड एकदमै धेरै छ । वास्तवमा काठमाडौं दुग्ध वितरण आयोजनाबाट डिमान्ड अनुसारको मोही दिन सकिराखेका छैनौं। सीमित जनशक्ति अनि अहिलेको उत्पादन युनिट पनि त्यति व्यवस्थित भइसकेको छैन। त्यसले गर्दाखेरि माग अनुसार दिन नसकेकै हो।’

यसैलाई मध्यनजर गर्दै डीडीसीले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मोही बजारमा ल्याउने तयारी पूरा गरेको जनाएको छ । आधुनिक प्याकेजिङले नयाँ पुस्ताका उपभोक्तालाई आकर्षित गर्ने विश्वास संस्थानको छ।

प्रधानमन्त्रीको प्रभावले देखायो ब्रान्डिङको शक्ति

पौडेलका अनुसार प्रधानमन्त्रीले याक चिज प्रयोग गरेपछि भएको बिक्री वृद्धिले डीडीसीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ।

उत्पादन राम्रो हुनु मात्र पर्याप्त नहुने, त्यसलाई प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्याउन प्रचार–प्रसार, ब्रान्डिङ र सार्वजनिक उपस्थितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने निष्कर्षमा संस्थान पुगेको छ ।

यसैले आगामी दिनमा डिजिटल माध्यम, होर्डिङ बोर्ड, प्रचार अभियान र उपभोक्तामुखी कार्यक्रममार्फत डीडीसीलाई नयाँ ढंगले प्रस्तुत गर्ने योजना बनाइएको उनले जानकारी दिए।

‘हाल नयाँ महाप्रबन्धकज्यू पनि भर्खरै आउनुभएको छ । उहाँको पनि इच्छा पनि विज्ञापन वा मार्केटिङ खुलेर गरौं भन्नेमा हुनुहुन्छ । केन्द्रीय कार्यालयले पनि केही बजेट यसको लागि छुट्याएर विज्ञापनहरू गर्ने, ठाउँ–ठाउँमा अब होर्डिङ बोर्ड गर्न सकिन्छ अथवा के गर्न सकिन्छ भन्ने छ,’ उनले भने ।

बजार विस्तारको अपेक्षा

डीडीसीले बजार विस्तारका लागि सरकारसँग नीतिगत सहयोगको पनि अपेक्षा गरेको छ।

पौडेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल, सरकारी क्यान्टिन तथा अन्य सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य पदार्थ डीडीसीबाट खरिद गर्ने व्यवस्था गरियो भने संस्थानलाई स्थायी बजार प्राप्त हुनेछ ।

उनले भने, ‘त्यहाँ मात्रै पनि यति ठूलो बजार छ कि त्यसको माग पूरा गर्न नै हामीलाई चुनौती हुनेछ । सरकारले नीतिगत रूपमा सहयोग गरिदियो भने किसानको दूध पनि सहज रूपमा खपत हुन्छ र संस्थान पनि आत्मनिर्भर बन्छ।’

किसानको भुक्तानी सुधारतर्फ

डीडीसीले किसानको भुक्तानीमा सुधार गरिरहेको पनि पौडेले जानकारी दिए । उनका अनुसार संस्थानको समग्र बक्यौता रकम पहिलेको तुलनामा उल्लेख्य रूपमा घटेको छ। काठमाडौं दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको छ भने हाल चैत, वैशाख र जेठ महिनाको मात्रै भुक्तानी बाँकी रहेको उनले बताए।

‘भुक्तानीको सन्दर्भमा ठ्याक्कै थाहा भएन तर संस्थानको समग्र भुक्तानी लगभग ४० करोडको हाराहारी भन्दा पनि तल झरिसक्यो भन्ने सुनेको छु । काठमाडौं दुग्ध वितरण आयोजना अन्तर्गतको सहकारीहरूको हकमा फागुन अन्तिमसम्मको भुक्तानीहरू भइसकेको छ । अब चैत, वैशाख र जेठ तीन महिनाको भुक्तानी मात्रै बाँकी छ,’ उनले भने ।

उनले केही निजी डेरी उद्योगहरूले पनि डीडीसीको नाम जोडेर किसानको भुक्तानी रोक्ने गरेको आरोप लगाउँदै सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।

सुधारको बाटोमा डीडीसी

विगत केही वर्षसम्म आर्थिक संकट, पुराना उपकरण, उत्पादन लागत र बजार प्रतिस्पर्धाका कारण दबाबमा रहेको डीडीसी अहिले विस्तारै सुधारको दिशामा अघि बढिरहेको संस्थानको दाबी छ ।

पौडेलका अनुसार मिडियामा अहिले संस्थानका सकारात्मक गतिविधिहरू पनि आउन थालेका छन्, जसले उपभोक्ताको विश्वास अझ बढाउन मद्दत पुगेको छ ।

उनले भने, ‘पुरानो संरचना र सीमित स्रोतसाधनबीच काम गरिरहेका छौं। तर अहिले विस्तारै नाफाको बाटोतर्फ अघि बढिरहेका छौं। अब गुणस्तरीय उत्पादनसँगै प्रभावकारी बजारिकरणलाई जोड्न सके डीडीसीले गुमाएको बजार पुनः प्राप्त गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।’

डीडीसीका लागि अब सबैभन्दा ठूलो चुनौती गुणस्तरीय उत्पादन बनाउनु मात्र होइन, त्यसलाई आधुनिक बजारको आवश्यकता अनुसार ब्रान्डिङ, विज्ञापन र वितरण प्रणालीमार्फत उपभोक्तासम्म पुर्याउनु पनि हो। वर्षौंदेखिको विश्वासलाई आधुनिक बजारिकरणसँग जोड्न सके संस्थानले फेरि एकपटक नेपाली दुग्ध बजारमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

वि.सं.२०८३ असार १६ मंगलवार १५:४८

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १६ मंगलवार १३:०९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ...

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...