भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले
कानुन कार्यान्वयनमा निर्मम बन्ने अर्थमन्त्रीको उद्घोष; आगामी बजेट निजी क्षेत्रमैत्री हुने
वि.सं.२०८३ वैशाख १९ शनिवार
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन्।
सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यसलाई उनले नेपालका लागि ‘आर्थिक प्रस्थान बिन्दु’ (Economic Take-off Point) को संज्ञा दिएका हुन्।
७ वर्षमा अर्थतन्त्र १०० अर्ब डलर पुर्याउने लक्ष्य
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले आगामी ७ वर्षभित्र नेपालको प्रतिव्यक्ति आम्दानी ३ हजार डलर र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पुर्याउने लक्ष्य सार्वजनिक गरे। भारतले विगत एक दशकमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उनको दाबी छ।
‘हामी सन् २०२७ को चुनावी चक्र पर्खिरहेका थियौँ, तर ‘जेनजी’ (Gen-Z) आन्दोलनले हामीलाई समयअगावै जिम्मेवारी सुम्पिएको छ,’ उनले भने, ‘अब सुशासन र आर्थिक वृद्धिको स्पष्ट मार्गचित्रसहित अघि बढ्नेछौँ।’
लगानीकर्तालाई नीतिगत स्थिरताको आश्वासन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै उनले यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए। विगतमा नीतिगत कब्जा (Policy Capture) र भ्रष्ट राजनीतिज्ञहरूसँगको अस्वस्थ सम्बन्धले व्यावसायिक वातावरण धमिलिएको उल्लेख गर्दै अब त्यस्तो बेथिति अन्त्य हुने उनले उद्घोष गरे।
‘कानुन कार्यान्वयनमा हामी निर्मम र कठोर हुनेछौँ तर इमानदार उद्यमीहरू डराउनुपर्ने अवस्था छैन,’ मन्त्री वाग्लेले भने, ‘आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनेछ।’
डिजिटलाइजेसन र ‘तौलरहित’ अर्थतन्त्र
नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न ‘डिजिटलाइजेसन’ नै प्रमुख अस्त्र हुने उनको तर्क छ। सूचना प्रविधिलाई प्राथमिकता दिनकै लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने विश्वास उनले व्यक्त गरे।
उनले विगत १२ वर्षदेखि आफूले पैरवी गर्दै आएको ‘तौलरहित र दूरीरहित’ (Weightless and Distance-less) अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको समेत बताए। रुग्ण कानुनहरूको खारेजी र प्रशासनिक झन्झटको अन्त्य नै आफ्नो पहिलो प्राथमिकता रहेको उनले दोहोर्याए।
प्रतिस्पर्धी क्षेत्रहरूको पहिचान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वसल्लाहकार अमिताभ कान्त र पूर्वअर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत् र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरे। निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने विश्वास दिलाए।
प्रकाशित समय : १८:३५ बजे





















