back
skip this gaugauma singhadarbar

स्किम र सुविधाहरु गहिरिएर बुझे सामाजिक सुरक्षा कोषबाट अधिक फाइदा छ

‘सामाजिक सुरक्षा कोषमा सुविधा अनेक छन्, बुझ्न जरुरी छ’

सबैभन्दा पहिलो कुरा त सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरुको तथ्यांकबारे चर्चा गर्न जरुरी छ । कोषमा यतिबेलासम्म २१ हजार दुईसय बढी रोजगारदाता आबद्ध भइसकेका छन् भने औपचारिक क्षेत्रमा ६ लाख ९ हजार आबद्ध छन् । यसरी हेर्दा हालसम्म २४ लाख ३० हजार कोषमा आबद्ध भएको देखिन्छ । कोषमा ८८ अर्ब रकम जम्मा भइसकेको छ भने विभिन्न सुविधामार्फत १६ अर्ब भुक्तानी भइसकेको छ । आबद्धता पनि दिनप्रतिदिन बढ्दै छ ।

रकमहरु पनि जम्मा भइरहेको छ र कोषले सञ्चालन गरेका सामाजिक सुरक्षा योजनाहरुमार्फत सुविधाहरु योगदानकर्ता मार्फत भुक्तानी पनि भइरहेको छ । सामाजिक सुरक्षाको प्रत्याभूति पनि भइरहेको स्थिति छ ।

सेवा सुविधाको कुरामा पछिल्लो पटक औपचारिक क्षेत्रको कार्यविधि संशोधन गरेर यसपाली स्वास्थ्य सेवा परिवारमा पनि विस्तार भएको छ । सुरुमा योगदानकर्ताबाट मात्रै सुरु भएको थियो । पछि योगदानकर्ताको श्रीमान र श्रीमतीले पाउने व्यवस्था भयो । पछिल्लो पटक योगदानकर्ताको श्रीमान–श्रीमतीको अलावा १८ वर्ष नकटेका छोराछोरीले पनि सेवा सुविधा विस्तार भएको छ । यि यस्ता सेवा सुविधा नै सुरक्षा कोष हो । यसले कुनैपनि व्यक्तिको सुरक्षा प्रदान गर्छ ।

एउटा श्रमिकले जतिखेर उसले कमाएर खान सक्दैन त्यतिखेर उसलाई दुई तीनवटा कुराहरुको आवश्यकता पर्छ । एउटा औषधि उपचारको र लामो समय काम नगरी बस्दा आयको आवश्यक्ता पर्छ । त्यस्तोबेला सुरक्षा कोषको आवश्यक्ता पर्छ ।

सुरक्षा कोषका बारेमा बुझाइमा पनि समस्या छ, हामीले सुरक्षा कोषबाट औषधि उपचार मात्रै दिँदैनौँ । लामो समय बिरामी भयो भने त्यतिखेर तलब पनि दिन्छौँ । कुनै महिला सुत्केरी हुँदा औषधि उपचार मात्रै पाउँदिनन् उनले शिशु स्याहार खर्च पनि पाउछिन् । केही समयका लागि उनले सुत्केरी बिदाबापत रकम तलब स्वरुपमा पनि पाउँछिन् । त्यस्तै दुर्घटना हुँदा अंगभंग भयो भने औषधिउपचार मात्रै होइन कि उसले जिन्दगीभर काम गर्न सक्दैन, त्यस्ताले आजीवन पेन्सन नै पाउँछन् । अर्को कुरा भनेको जसले कमाउँछ उसैको मृत्यु भयो भने उसले जम्मा भएको पैसा फिर्ता मात्रै पाउँदैन कि उसको परिवारले श्रीमान र श्रीमतीले आजीवन पेन्सन नै पाउँछ  । उसको १८ वर्ष नकटेका छोराछोरी छन् भने २१ वर्ष नपुग्न्जेलसम्म पढ्ने खर्च पनि पाउँछन् ।

सामाजिक सुरक्षा प्रणाली भनेको सरकारी अफिसमा काम गर्नेले मात्रै नभइ कुनैपनि नीजि कम्पनीहरुले सदुपयोग गर्न सक्छन् । चाहे रेस्टुरेन्टको वेटर होस् या हस्पिटलमा काम गर्ने नर्स वा, सवारी चालक वा सहचालक होस् अथवा कुनै बैंक वा इन्स्योरेन्सको कर्मचारी नै किन नहोस सबैले अवसर पाउँछन् ।

सामाजिक सुरक्षा कोषले विशेषगरी दुइटा क्षेत्रमा काम गर्छ । एउटा ‘युनिभर्सल हेल्थ कभरेज’ अथवा सबैलाई सधैँको लागि सहज स्वास्थ्यको पहुँच पाउन सक्छन् । सस्तोमा सहज स्वास्थ्यको पहुँच र पेन्सनको सुविधा पनि पाउँछन् । बुढेसकाल वा अशक्त हुँदाखेरि पेन्सनदेखि एउटा घरमा जो काम गर्न सक्दैन उसको मृत्यु भयो भने उबाट आश्रितलाई  पेन्सन दिने पाउने भएकाले यसको पृथक महत्व छ । युनिभर्सल हेल्थ कभरेज र पेन्सनएबल समाजमार्फत सामाजिक सुरक्षा योजनाहरु सञ्चालन भइरहेको पनि छ ।

हामीले यतिबेला छोटो समयमै १०७ वटा अस्पतालबाट अनलाइन सिस्टममार्फत सेवा सुविधा पनि दिइरहेका छौँ । ११५ वटाभन्दा बढी पालिकाहरुले सम्झौता नै गरिसकेका छन् । सुरक्षा कोषले औपचारिक मात्र नभएर विदेश जानेहरुका लागि वा अनौपचारिक तथा स्वरोजगारलाई पनि जोड्ने काम गर्छ । बेरोजगार भत्ता बाहेक सुरक्षा कोषमा सबै स्कीमहरु छन् ।

कोषमा जुन रकम जम्मा भएको छ, जसरी आबद्ध भइरहेका छन् र जसरी सुविधा प्रदान भइरहेको छ, त्यो पक्कै पनि सबैले गर्व गर्न लायक नै छ ।  औपचारिक क्षेत्रका लागि त यो अनिवार्य नै छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनले पनि धेरै कुरा स्पष्ट पारेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पछिल्लो संशोधनमार्फत केही नेपाल ऐनमार्फत थप स्पष्ट भएको छ ।

त्यसैले पनि औपचारिक क्षेत्रमा काम गर्ने रोजगारदाताहरु कोषमा अनिवार्य आबद्ध गराउनैपर्छ । श्रमिकका लागि श्रमिककै पक्षमा र रोजगारदाता एवम देशकै पक्षमा कोष छ ।

सरकारले ल्याएको स्वास्थ्य बीमा खाली स्वास्थ्यको लागि मात्रै हो । त्यसमा रोजगारदाताको सम्बन्ध हुँदैन् । त्यो जसले पनि गर्ने भयो । तर सामाजिक सुरक्षा रोजगार वा आयआर्जनमा संलग्न व्यक्तिहरूको लागि हो । सुत्केरीदेखि दुर्घटना र बुढेसकालको पेन्सनलगायत धेरै विषयवस्तुहरू यसमा समेटिएका छन् ।

रोजगारदाता र श्रमिकको सवाल

सुरक्षा कोषमा रोजगारदाता र श्रमिक पक्ष छन् । रोजगारदाताले यसमा २० प्रतिशत योगदान गर्नुपर्छ, जुन श्रम ऐनले भनेको न्यूनतम लागू गरिएको हुनुपर्छ । रोजगारदातालाई कतिपय कुराहरुमा भ्रम छ । मंैले थप पैसा तिर्नुपर्छ कि भन्ने भ्रममा छन् । त्यो थप पैसा होइन । रोजगारदाताले दिने २० प्रतिशतमा १० प्रतिशतसञ्चयकोषको,८.३३ प्रतिशत उपदान गरेर १८.३३ प्रतिशत हुन आउँछ । अनि अर्को भनेको १.६७ प्रतिशत हो । जुन एक लाख रुपैंयाँको औषधि उपचार, सात लाखको दुर्घटना बीमालगायत व्यवसायजन्य रोगलगायतका कुराहरू समेटिएको छ ।  श्रमिकको ११ प्रतिशत भनेको पनि सञ्चयकोषको १० प्रतिशत र एक प्रतिशत सामाजिक सुरक्षा कर हो । थप दायित्व छैन । यसमा रोजगारदातालाई थप दायित्व छ कि भन्ने भ्रम छ । त्यो न्यूनतम सामाजिक सुरक्षाको २० प्रतिशत भनेको श्रमिकको न्यूनतम पालना मात्रै हो । श्रमिकको त श्रमिककै फाइदाका लागि हो ।

जनचेतना जरुरी

सामाजिक सुरक्षा कोषले विभिन्न रोजगारदाताको संघ संगठनहरुसँग वा  श्रमिकका संघ संगठनहरुलाई बोलाएर विभिन्न कार्यक्रम गरिरहेको छ । आबद्धता दिनप्रतिदिन बढ्दै छ । तर त्यो  अझै अपुग हो । अलिकति चेतना बढाउने वा जनचेतना सम्बन्धी काम अर्थात कोषको फाइदाबारे बताउन सकेका छैनौं । त्यसैले अझै चेतना बढाउन जरुरी छ ।

सामाजिक सुरक्षा प्रणालीमा जति धेरै सहभागी हुन्छन् त्यति धेरै यसको फाइदा दिन सकिन्छ । त्यति नै धेरै यसको दिगोपना हुन्छ । त्यसकारणले सामाजिक सुरक्षा कोषमा सबैको आबद्धता जरुरी छ । केन्द्रदेखि प्रदेश, स्थानीय तहसम्मका रोजगारदाताहरू वा संघ संगठन, श्रमिक र सरकारको भूमिका उत्तिकै छ । हाम्रो सञ्चालक समिति पनि त्रिपक्षीय छ । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिहरू छन् । समन्वयकारी रुपमा नै काम होस् भन्ने हामी चाहन्छौँ ।

हाम्रो नीति तथा कार्यक्रममा स्पष्ट छ । नेपाल सरकारमा अस्थायी वा करारमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भनेर लेखेकै छ । यस वर्षको सुरुमै यसको होमवर्क भएको छ । यस वर्ष चाँडै उनीहरु आबद्ध हुन्छन् ।

वैदेशिक रोजगारमा जाने श्रमिकहरू सामाजिक सुरक्षामा आबद्ध छन् । ०७९ साल चैत ८ गतेदेखि ठूलो संख्यामा आबद्ध भइसकेका छन् । उनीहरुको पहिला निरन्तरताको समस्या थियो तर यो निरन्तरताको समस्यामा सामाजिक सुरक्षा कोषले विदेशबाट पनि आफ्नो योगदान रकम नियमित गर्नको लागि व्यवस्था गरेको हुँदा यसमा नियमितता बढ्दो छ ।

सुरक्षा कोषका बारेमा बुझौं

सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि दुई थरी छन् । एउटा योगदानमा आधारित, अर्को कर्ममा आधारित छ । कर्ममा आधारितमा उसले योगदान गर्नुपर्दैन । उदाहरणको लागि, ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाउनको लागि योगदान गर्नुपर्दैन । तर सामाजिक सुरक्षा कोषबाट लिनको लागि आफूले केही रकम जम्मा गर्नुपर्छ । रोजगारदाताले केही जम्मा गर्छन् र जम्मा गरेका आधारमा सुविधाहरू पाउने हो । त्यसैले यसका स्किमहरू बुझ्न जरुरी छ । कुनै–कुनै स्किमहरू आज जम्मा हुनेबित्तिकै त्यो पाइहालिन्छ । कुनैमा तीन महिना लाग्छ, कुनैको लागि दुई वर्ष लाग्छ, कुनै पाँच वर्ष लाग्छ ।

जस्तो कि दुई वर्षपछि घातक रोगको लागि वा क्यान्सर लगायतका घातक रोगहरूमा १० लाखको औषधि उपचार पाइन्छ । यस्ता धेरै स्किमहरु छन् । यस्ता स्किमहरुमा सहभागि हुन योगदानको नियमितता र योगदान गर्ने अवधिमा भर पर्छ । मुख्य कुरा योगदान हुनुपर्छ । र समयावधी पुग्नुपर्छ ।

सामाजिक सुरक्षा कोषले चलाएको स्वास्थ्य उपचार सुविधा पनि दुई थरीका छन् । एउटा औषधि उपचार भन्ने अर्को दुर्घटना वापतको भन्ने छ । औषधि उपचारको आफ्नो विधि छ, दररेट छ । अपरेसनको कुरा गर्दा समस्या छैन भन्न सकिदैन । अपरेसनमा समस्या हुनसक्छ । व्यवस्था अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्नैपर्ने हुन्छ । सेवा प्रवाह गर्दा सेवा प्रवाहसँगसँगै गुनासोहरू आउँछन्, गुनासो आउनु ठूलो कुरा होइन । गुनासोलाई दुई पक्ष बसेर समाधान गर्न सकिन्छ । अस्पताल र विरामीहरुले पनि हाम्रो व्यवस्था नबुझेको भए बुझ्ने प्रयास गर्नुपर्छ । विशेषगरी अस्पतालहरुले विरामीको मर्का बुझ्नुपर्छ ।  योगदानकर्ता, हस्पिटल र सामाजिक सुरक्षा कोष बसेर त्यस्ता समस्याहरू छन् भने हल गर्दै जान सकिन्छ । सुरक्षा कोष र अस्पतालले दिनुपर्ने छुटका कुराहरु बुझ्न जरुरी छ ।

कम्पनी छाडे फरक पर्दैन

सामाजिक सुरक्षा कोषमा एकचोटी दर्ता भइसकेपछि, उसको युनिक नम्बर हुन्छ । त्यो नम्बर जतिवटा कम्पनी छाडेपनि त्यही कायम रहन्छ । कम्पनी छाड्दा फरक पर्दैन । यो प्रणाली भनेको पेन्सन दिने प्रणाली हो । बैंकिङ प्रणाली होइन । यसमा दुइथरी पैसा हुन्छन । एउटा रकम अवकाश हुँदा निकाल्न पाइन्छ । अर्को पेन्सन योजनामा जम्मा भएको पैसा जति जम्मा गरेको त्यहीको बेसिसमा पेन्सन पाउने हो । त्यसैले पेन्सनमा सुरक्षित नै रहन्छ । त्यसमा कोषले ब्याज दिन्छ, नाफा गरेभने नाफा पनि हुन्छ । विशेषगरी मानिसहरुले नागरिक लगानी कोष, कर्मचारी संचय कोषलगायतका निकायका बारेमा बुझनु पर्छ । सामाजिक सुरक्षा कोष जन्मिँदै सामाजिक सुरक्षा प्रणालीको लागि आएको हो ।

सुविधा विविध छन्

सामाजिक सुरक्षा कोषमा सुविधा विविध छन् । स्किम विविध छन् ।  कोषमा लोनहरूको सुविधा छ । घर कर्जा, शैक्षिक कर्जा, विशेष सापटी लगायतको सुविधाहरू छन् । त्यसको लागि ३६ महिना अवधि पुगेको हुनुपर्छ । योगदान गरेको ३६ महिना अवधि भएपछि लोन पाइन्छ । यसका आफ्नै सीमाहरु छन् । यि विविध सेवा सुविधाबारे बुझन् अनुरोध छ । बाहिर आएका हल्ला र चर्चा भन्दापनि वास्तविकता बुझ्न जरुरी छ ।

सुरक्षा कोषमा आबद्धता बढ्दो छ । नीतिगत सुधार भएको छ । छरिएर रहेका अवकाश कोषहरूको खारेजी भएको छ । नीति कार्यक्रममा अस्थायी करारलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने भनिएको छ । सरकारी लगानी भएका प्रतिष्ठानहरूमा पनि कोषमा आउने कुरा छ ।

बैशाख १ गतेको राजपत्र अनुसार विभिन्न खालका अस्थायी वा करारलाई एक खालको नीतिमार्फत सम्बोधन गरेको छ । यसपालीको बजेटले सुरक्षा कोषलाई राष्ट्रको प्राथमिकतामा राखेको छ । यसमा सबैको साथ, सहयोग छ । विशेषत अब धेरै कुरामा परिवर्तन हुँदैछ । वृद्धभत्ताका सवालमा परिवर्तन आउँछ । काम गर्न सक्नेले राज्यको भर पर्ने नभइ आफैं योगदान गरेर, आफैं फाइदा लिनुपर्ने हुन्छ । रोजगारमा हुँदा मात्र नभइ योगदानमा आधारित कोष भएकाले आय आर्जनमा संलग्न सबै यसमा आबद्ध हुन जरुरी छ । (सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग गरिएको कुराकानीमा आधारित)


जेनजीको आन्दोलनमाथि दमन भयो, माग सुनुवाइ नभए आत्मघाती हुन्छ’

जेनजीको आन्दोलनमाथि दमन भयो, माग सुनुवाइ नभए आत्मघाती हुन्छ’

वि.सं.२०८२ भदौ २४ मंगलवार १०:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले...

‘सुदूरपश्चिम विकास तथा लगानी सम्मेलनमा आठवटा क्षेत्रहरू प्राथमिकतामा छन्’

‘सुदूरपश्चिम विकास तथा लगानी सम्मेलनमा आठवटा क्षेत्रहरू प्राथमिकतामा छन्’

वि.सं.२०८२ भदौ २२ आइतवार १०:३८

नेपाली युवा बैज्ञानिक डा.जितु उपाध्यय यतिबेला सुदुरपश्चिम प्रदेश सरकारको सल्लाहकारको...

इम्बोस्ट नम्बर प्लेटका सवालमा सरकारको तयारी पुगेको छैन

इम्बोस्ट नम्बर प्लेटका सवालमा सरकारको तयारी पुगेको छैन

वि.सं.२०८२ भदौ १७ मंगलवार ०९:२६

यातायात व्यवसायीहरुले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको...

‘गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको भविष्यप्रति राज्य निरिह छ’

‘गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको भविष्यप्रति राज्य निरिह छ’

वि.सं.२०८२ भदौ १५ आइतवार १०:४१

काठमाडौं । भूपू गोर्खा र हाल कार्यरत गोर्खाहरुको अधिकार, नागरिकता...

‘नेपालमा ड्रोन अनुमति प्रक्रिया जटिल छ, आधा घन्टाका लागि १५ दिन खर्चिनुपर्छ’

‘नेपालमा ड्रोन अनुमति प्रक्रिया जटिल छ, आधा घन्टाका लागि १५ दिन खर्चिनुपर्छ’

वि.सं.२०८२ भदौ १३ शुक्रवार ०९:४३

काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ...

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई

वि.सं.२०८२ भदौ ९ सोमवार १०:१६

काममा ढिलासुस्ती, बेथिति र अनियमितताको आरोप खेप्दै आएको वैदेशिक रोजगार...