back
skip this gaugauma singhadarbar

‘सुदूरपश्चिम विकास तथा लगानी सम्मेलनमा आठवटा क्षेत्रहरू प्राथमिकतामा छन्’

नेपाली युवा बैज्ञानिक डा.जितु उपाध्यय यतिबेला सुदुरपश्चिम प्रदेश सरकारको सल्लाहकारको भूमिकामा छन् । विश्वव्यापी संस्था जेसिआईले विश्वका २० प्रभावशाली युवाको सूचीमा समावेश गरिएका डा उपाध्ययले दक्षिण कोरियाको चोनबुक नेशनल युनिभर्सिटीबाट फूड साइन्स र टेक्नोलोजीमा पीएचडी गरेर क्यानडामा प्राध्यापन गर्दागर्दै नेपाल फर्किएका उनी हाल प्रदेश सरकारलाई सफल बनाउन विभिन्न अवधारणाहरुमा काम गरिरहेका छन् । आगामी मंसिरको १ र २ गते (नोभेम्बर १७ र १८) मा हुन लागेको सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनका सन्दर्भमा  कुराकानी :

सूदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्दैछ । के कस्तो तयारी हुँदैछ ?
आगामी मंसिरको १ र २ गते (नोभेम्बर १७ र १८) लाई हामीले सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन भनेर तय गरेका छौं । त्यसकै तयारी स्वरुप हामीले प्रारम्भिक चरणमै हाम्रो प्रि–सम्मेलन पनि गरिसक्यौं । तयारीको हिसाबले करिब–करिब ६० देखि ७० प्रतिशत तयारी सकिएको अवस्था छ ।

विकासको दृष्टिकोणले सूदूरपश्चिम अहिले पनि पछाडि नै छ । यहाँको विकास गर्न मुख्यगरी विकासका कस्ता पूर्वाधाहरुमा लगानी गर्न जरुरी छ ?
इन्फ्रास्ट्रक्चरमा नेपालको विकासको गति अलि बढेपनि, समग्र आयआर्जनको हिसाबले हेर्योभने, नेपालभित्र भएका नेचुरल रिसोर्सेसहरूको युटिलाइजेसन, आयात र निर्यातको ग्यापलाई मजाले अध्ययन विश्लेषण गर्नुपर्छ । यस भित्रका अवयव हेर्दाखेरि हामी होल कन्ट्रीको एकदम ठूलो उत्साहजनक अवस्था छैन । समग्रमा हेर्दाखेरि धेरै खस्किसकेको स्थिति पनि होइन ।

तर, सुदूरपश्चिमको अवस्था हेर्ने हो भने संघीय सरकारसँग वा राजधानीसँग भनौँ कनेक्टिभिटीमा धेरै पछाडि प¥यौं । कर्णालीको पुल बनेपछि सुदूरपश्चिमको होल ठाउँ मेन स्ट्रिमसँग कनेक्ट भयो । कनेक्टिभिटी विकासको एउटा प्यारामिटर पनि हो । सुदूरपश्चिममा १० वर्षे जनयुद्धले पनि विकासको गतीलाई अलिपछि नै धकेलेको देखिन्छ । केही नीति, ऐन, कानुन र सम्बन्धित निकायको इच्छाशक्ति उत्साहजनक नभएको हुनाले त्यहाँ भएका स्रोतहरूलाई युटिलाइजेसन गर्न सकेनौं । जसका कारणले गर्दाखेरी, तपाईंले भनेको जस्तो, सुदूरपश्चिमको विकासको गती अलि ढिलो भएको छ ।
अहिले हामीले विकास तथा लगानी सम्मेलनमा विशेषतः आठवटा क्षेत्रहरू छुट्टाएका छौं । एउटा रिसर्च बेसमा आधारित भएर फिल्डहरू छुट्टाएका थियौं । कि हाम्रो पोटेन्सियल क्षेत्र के हो ? तीनै आठओटा क्षेत्रहरु मध्ये हाम्रो कृषि, खनिज, हस्पिटालिटी, आइटी, पर्यटन कुरा गरेका छौं ।

आठवटा सेक्टरभित्र पनि पार्टिक्युलर सेक्टरियल प्रोजेक्टहरूको डेभलपमेन्ट गरेर शोकेसिङ गर्ने लेभलमा हामी जाँदैछौं र सम्भावना नै त्यसैमा छन् । विशेषतः जडीबुटी, पर्यटन, कृषि, ऊर्जा, धार्मिक पर्यटन लगायतालाई हामीले मुख्य केन्द्रमा राखेका छौं ।

प्रि–सम्मेलनमार्फत के कस्ता लगानीका क्षेत्रहरु पहिचान भएका छन् ?
निश्चित रूपमा सुदूरपश्चिमलाई, जुन एउटा नयाँ आयाममा लिने भनेर भन्यौं त्यसअनुसार त हामीसँग धेरै कुरा छन् नि । तपाईंले पूर्वाधारका कुरा गर्नुभयो । धेरै ठाउँमा हाम्रो ब्ल्याक टप पुगेको स्थिति पनि छैन् । त्यो एउटा भौतिक पूर्वाधारको कुरा होला ।

तर, अन्य कुराहरू पनि छन, जस्तै हाम्रो एग्रिकल्चरमा त्यति प्रोसेसिङ भएको पनि छैन । हामीसँग भएको हर्बल वा जडीबुटीको लागि यति ठूलो सम्भावना छ, त्यसको चाहिँ आइडेन्टिफिकेसन पनि भइसकेको स्थिति छैन् । कहाँ र कुन ठाउँमा कस्तो जडिबुटी पाइन्छ, कति सङ्ख्यामा छ, त्यसको विस्तृत अध्ययन हुन बाँकी नै छ त्यसकारण यसको अध्ययन अनुसन्धान पनि हुन जरुरी छ ।
यी लगायत गर्नुपर्ने काम थुप्रै छन् । त्यही, भएर नै यो लगानी तथा विकास सम्मेलनको औचित्यता ठान्यौं । हामीसँग भएका पोटेन्सियल क्षेत्रहरू, सम्भावना बोकेका क्षेत्रहरू नेश्नल्ली पनि र इन्टरनेसनल्ली पनि, सुदूरपश्चिमका क्षेत्र यि हुन् र तपाईंहरूले सहजीकरण गर्दियो भने, त्यहीअनुसार, अगाडि बढ्छौं भन्ने मूल उद्देश्यका साथ लगानी तथा विकास सम्मेलन गर्दैछौं ।

आन्तरिक लगानीकर्ताहरुलाई मात्रै आह्वना गर्नु भएको छ कि, बाह्य लगानीकर्ताहरुलाई पनि आह्वान गर्नु भएको ?
हाम्रो प्रदेशले आफ्नो क्षेत्राधिकारभित्र रहेर निर्णय गर्ने कुराहरू हो । बाहिरका लगानीलाई पनि त वेलकम गर्छौं । तर कतिपय कुराहरुमा संघीय सरकारमार्फत अघि बढ्छौं ।

विदेशी अनुदान या डोनेसन या इन्भेस्टमेन्टको कुराहरू प्रक्रियागत छन् । त्यसलाई पनि सहजीकरण गर्छौं र अर्को कुरा त हामी सुदूरपश्चिमभित्र भइरहेका, गरिरहेका उद्यम, उद्योग–धन्दा सञ्चालन गरिरहेकाहरूमा सहजीकरण पनि गर्छौं । उनीहरूलाई केही अप्ठ्यारा छन् भने पनि सहजीकरण गर्नेछौं ।

ंअर्को कुरा देश बाहिर रहेका नेपाली लगानीकर्ताहरुमा पनि मुख्य टार्गेट छ ।सूदूरपश्चिममा के कस्ता सम्भावनाहरु छन भन्ने कुरा देखाउँछौं । यहाँ लगानी गर्नुभयो भने यो–यो कुरामा सजिकरण गर्न सक्छौं भनेर उनीहरुसँग कमिटमेन्ट पनि गर्छौं ।

लगानीकर्ताहरुले सूदूरपश्चिममा लगानी गर्दा सुरक्षित हुने आधारहरु के–के छन् ?
हामीले पछिल्लो चरणमा पटक–पटक भोगेको प्रश्न पनि यही हो कि एउटा इन्भेस्टर आइसकेपछि आफ्नो इन्भेस्टमेन्टको सेक्युरिटी के त ? भन्ने प्रश्न उठ्यो । यसमा प्रदेश सरकारले विशेष ध्यान दिन जरुरी छ । त्यसको लागि गृहकार्य गर्दैछौं । हामी दुइवटा पाटामा गृहकार्य गर्छौं ।

लगानीकर्ताहरुले पहिलो कुरा झन्झटिलो कानुनी प्रक्रियाका बारेमा प्रश्न उठाउनु भएको छ । कुनैपनि एउटा प्रोजेक्ट लन्च गर्दाखेरि त्यसको कानुनी प्रक्रिया झन्झटिलो भयो वा कानुनी प्रक्रिया टुंग्याउनको लागि धेरै समय लाग्छ । त्यसकारण हामी त्यति उत्साहित छैनौंँ भन्ने कुरा उठेको छ ।

यसैका लागि प्रदेश सरकारले उपसमिति बनाएर लगानीकर्ताहरुले भने अनुसार ११ वटा कानुनमा संशोधन गर्दैछ । यसले हाल भोगिरहेको कानुनी पाटोको झन्झटिलो प्रक्रियालाई चाहिँ हटाउँछ । त्यति मात्र होइन, उहीहरुलाई अप्ठ्यारो पर्यो भने, सहजीकरण गरिदिने छौं । संघीय सरकारसँग पनि कमिटमेन्ट गरेका छौं । त्यसले उहाँहरुलाई निकै सहज वातावरण बनेको छ ।

अर्को कुरा कुनैपनि इन्भेस्टर आइसकेपछि उसले आफूले लगानीगर्न खोजेको ठाउँमा बाटोघाटो, बिजुली, पानी, जस्ता आधारभुत आवश्यकताहरूलाई मुख्य रुपमा चाहेको हुन्छ । त्यस्ता कुराहरुमा प्रदेश सरकारले व्यवस्थापन गरिदिने भन्ने कमिटमेन्ट गरेका छौं । त्यति मात्र होइन, अझ कुनै ठुलो प्रोजेक्ट आयो भने उसका लागि चाहिने जग्गाको कुरामा पनि प्रदेश सरकारले सहजिकरण गर्नेछ । यस्ता धेरै पाटोहरुमा प्रदेश सरकारले सहजीकरण गर्नेछ र सहयोग गर्छ ।

अहिले लगानीकर्ताहरुसँग पनि भेटघाट गरिरहनु भएको होला । के भन्छन लगानीकर्ताहरु ?
हो, यतिबेला लगानीकर्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छौं । लगानी सम्मेलनलाई लिएर उत्साहित नै छौं भन्ने कुराहरु पनि उहाँहरुले गरिरहनु भएको हुन्छ । पहिलो कुरा त कोभिडपछि नेपालको अर्थतन्त्र थोरै चलायमान भएको स्थिति छ । दोस्रो कुरा, लगानीकर्तााहरूले भने अनुसार सुदूरपश्चिममा एकदम भर्जिन ल्याण्ड छ । धेरैको साधनस्रोत हुँदा लगानीका लागि यहाँ ठुलो सम्भावना छ । यसमा हाम्रो आँखा पुग्न सकेको थिएन ।

लगानीका लागि ध्यान नपुग्नुमा दुईवटा पाटा छन् । एउटा त भौगोलिक दूरी धेरै टाढा हो भन्ने मनोविज्ञान छ । दोस्रो कुरा दृढ इच्छाशक्ति भएको लिडरसिपको खोजीमा थियौं । त्यो भएर, हामी कतै–कतै अलमलिएको हो । लगानीकर्ताहरुसँगको पछिल्लो अन्तरक्रिया, भेटघाटले गर्दा यो मामलामा उत्साहित नै छौं ।

विकास भनेको त पूर्वाधार मात्रै होइन । सामाजिक विकास पनि जोडिन्छ । त्यसभित्र हाम्रो विविधताका कुराहरू आउँछन् । हाम्रो कल्चरको कुरा होला, कस्टमको कुराहरू होला र हाम्रो क्लाइमेटिकल अनि डाइभर्सिटीको कुरा होला । भएका प्राकृतिक स्रोतहरूको कुराहरू होलान । यी सबैलाई इम्प्लिमेन्टेसनमा लिन, युटिलाइजेसन गर्न, अधिकतम उपयोग गरेर सम्भवतः उद्योगधन्दा स्थापनामै बढी जोडौँ । विकासको एउटा मेरुदण्ड भनेको औद्योगीकरण नै हो । कुनैपनि कन्ट्री हेर्नुभयो भने औद्योगीकरणले रोजगार सिर्जना गर्छ, रेभिन्यु जेनेरेट गर्छ । जुन एउटा राज्य सञ्चालनका लागि चाहिने पाटो हो । त्यसकारण हामी साना, मझौला र ठुला उद्योग स्थापनालाई प्राथमिकता दिएर लागेका छौ ।

साथसाथै पुल, बाटो, कनेक्टीभिटि, स्वास्थ्य शिक्षालगायत सबै कुरा अत्यन्तै महत्पूर्ण पाटा हुन् । नागरिकलाई सहज शिक्षा र स्वास्थ्यमा पहुँच पुगाउन सकियोस भन्नेमा छौं । विकासका कुराहरुमा नागरिकका अधिकारका कुराहरू पनि हुन्छन् । यी विविधि कुराहरु विकासका मेरुदण्ड हुन यी सबै कुरालाई हामी यस लगानी सम्मेलनमार्फत जोड्ने प्रयास गर्दैछौं । वित्त आयोगले हालै मात्र सार्वजनिक गरेको एउटा प्रतिबेदन अनुसार विभिन्न इन्डिकेटरहरुको आधारमा सुदूरपश्चिम पहिलो स्थानमा छ । त्यसका आधारमा पनि भन्न सकिन्छ कि सूदूरपश्चिम भौतिक विकासका लागि योग्य छ । यहाँ लगानीगर्न समस्या छैन भन्ने हो ।

सूदूरपश्चिमले ठुला नेताहरु जन्मायो तर ति नेताले यहाँको विकास गर्न सकेनन भन्ने प्रश्न पनि उठ्ने गरेको छ नी । यसमा तपाइँको धारणा के हो ?
उठ्छ, उठ्छ, निश्चित रूपमा हो । राजकीय पोर्टफोलियोमा हाम्रा केही पर्सनालिटीहरू आउनुभयो र उहाँले पनि केही प्रयास गर्नुभएको हो । यद्यपि, प्रयास नगरेको भन्ने होइन । केहि पछाडि फर्केर हेर्नुभयो भने, अघि मैले पहिले सुरुमै उठाएको थिएँ, कनेक्टिभिटीको कुरा ।

२०५० सालमा जस्तो लाग्छ मलाई, संघीय राजधानीसँग हामी कनेक्ट भयौं । कर्णाली नदीको पुल त्यहिबेला बनेको हो । कर्णालीदेखि लिएर कञ्चनपुरसम्म हेर्नुभयो भने २२ वटा पुलहरूको निर्माण त्यहिबेला बनेको हो । त्यसअघि त हामी क्षतविक्षत अवस्थामा थियौं ।

यसको इन्सिडेन्ट गर्दा हाम्रो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूको विशेष पहलले भएको हो । उहाँको इनिसिएसन र तत्कालीन सरकारको इच्छाशक्ति एवम भारत सरकारसँगको समन्वयका आधारमा त्यो केनेक्टीभिटी बनेको हो । त्यो एउटा विकासको ठुलो फड्को मार्यो भन्छु म ।
तर, जनताको इच्छा र आकांक्षा दिनानुदिन एकदमै बढ्दै गएको स्थिति छ ।

हाम्रो साधन, स्रोत र लिमिटेसनको ग्यापिङले गर्दाखेरि जनतामा स्वभाविक रूपमा प्रश्न उठ्यो कि यो प्रदेशले के ठुला–ठुला नेताहरू पाये तर खैत विकास भन्ने भएको छ । केही कमीकमजोरी भए होलान् ।

यद्यपि, हाम्रो व्यवस्था परिवर्तनलाई पनि बिर्सनु हुँदैन कि हामी पटक–पटक व्यवस्था परिवर्तनमा अल्झियौं । लामो समय पोलिटिकल्ली एजेन्डामा मात्रै रुमलियौं । पछिल्लो नयाँ संविधान बनेपछि मात्र केही विकासका एजेन्डाहरुमा अघि बढ्न थालेका हौं । त्यसकारण सुदूरपश्चिममा मात्र होइन, समग्र देशको डेभलपमेन्ट पछि पर्नुको रिजन एउटा त्यो हो जस्तो लाग्छ ।

सूदूरपश्चिम आफैंमा एउटा पर्यटन क्षेत्रको हब हो । यसको सम्भावनाहरु उजागर गर्न प्रदेश सरकारले के गर्दैछ ?
टुरिजम त सुदूरपश्चिमको लागि एक किसिमको वरदान नै हो । यहाँको लागि गड गिफ्टेड चिज केही छ भने त्यो टुरिजम नै हो । यहाँका मठ–मन्दिरहरूमा मान्छेहरुको ठुलो आस्था छ जसलेगर्दा यहाँ धार्मिक पर्यटनको ठुलो सम्भावना छ । तर, त्यहाँसम्म पनि हाम्रो कनेक्टिभिटी र सहज पहुँच पुगेको छैन । बडीमालिका जाने पर्यटकहरुलाई कसरी सहज बनाउने भनेर प्रदेश सरकारले अबको एक महिनाको पिरियडमा एउटा कार्यदल नै बनाएर वर्कआउट गरिरहेको छ । त्यहाँ गएका तीर्थालुहरूका मिनिमम रिक्वायरमेन्टहरू कसरी पुरा गर्ने भन्ने कुरामा त्यो कार्यदलले काम गर्नेछ । सूदुरपश्चिमका २३ वटा हिमाल चढ्नका लागि पर्यटन मन्त्रालयले ट्याक्स फ्री गरेको छ ।

विदेशी पर्यटकसँग लिइने दोहोरो भाडादरका कारण सुदूरपश्चिममा पर्यटक पुग्न सकेनन भन्ने छ । भाडादर समान बनाउन प्रदेश सरकारले केही पहल गर्दैछ ?
दोहोरो भाडादरको मापदण्डका विषयमा चाहिँ प्रदेश सरकारले भन्दा पनि संघीय सरकारले एउटा एजेन्डा बनाउनुपर्छ । यद्यपी, प्रदेश सरकारले यो एजेन्डामा एड्रेस गर्न र पहल गर्नतर्फ झकझक्याउन सक्छ । एड्भोकेसी गर्न सक्छ, तर उसले आफैं कार्यान्वयनमा ल्याउन सक्दैन ।

केही दिनअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एउटा अन्तरक्रिया कार्यक्रममा चाहिँ यहि प्रश्न उठ्यो । तर, प्राइभेट सेक्टरका हवाई कम्पनीहरू मान्न तयार छैनन् । तरपनि प्रयास भने निकै घनिभूत रूपमा भइरहेको छ भनेर पर्यटन मन्त्री भनिरहनुभएको थियो ।

तर निजी क्षेत्रले हामीलाई बेनिफिट नै हुँदैन, त्यो भएन भने हामी चल्नै सक्दैनौंँ भन्ने गरेका छन् । नेपाली रविदेशी पर्यटकलाई समान भाडदार भएमा कसरी उडान गर्ने भन्ने उनिहरुको तर्क छ । त्यही पनि वार्ता र नेगोसिएसन भइरहेको छ भनेर पर्यटन मन्त्रीले भनिरहनुभएको छ । त्यसकारण प्रदेश सरकारले पनि यो कुरालाई आफ्नो नोटिसमा राखेको छ । भाडादरको समस्याका कारण पनि बाहिरबाट जाने पर्यटकको संख्या धेरै नभएको स्थिति निश्चित नै हो ।

अब थोरै तपाइँका केहि व्यक्तिगत कुराहरु गरौं । आम युवाहरुलाई विदेश मोहले तानिरहेको बेला तपाइँ भने कुन उद्देश्यले नेपाल फर्किनुभयो ?
किन आए भन्दापनि पहिलो कुरा त मेरो आफ्नो लक्ष्य थियो । इन्डिभिजुअलभन्दा पनि कलेक्टिभ रूपमा अलि बढी डेलिभरी दिन सकियो भने आत्मसन्तुष्टि हुन्छु भन्ने थियो । इन्डिभिजुअल लाइफको क्वालिटी लाइफभन्दा पनि आफूले सिकेको सीप, ज्ञान र केही आफूले कमाएको पुँजी आफ्नो कन्ट्रीप्रति कन्ट्रीब्युसन गर्न सकिन्छ कि भनेर हो । त्यसको डाइमिटर अलि ठुलो हुन्छ भन्नेमा म क्लियर थिएँ। । अब एउटा जिम्मेवारी प्राप्त गरेँ र त्यहि भएर म फर्केको हो ।

बाहिर जानेको ट्रेन्ड अझै कायम छ । सबै एकै ट्रेन्डले गएका होइनन, जानेहरुमा पनि दुई–तीन वटा क्याटेगोरी छ । मिडिल इस्टतिर जानेहरुको हेर्नुभयो भने, उनीहरुको एउटा बाध्यता छ । यहाँ रोजगारीको अवसर कम, रोजगारी भएपनि पेमेन्ट कम छ । जसले गर्दा उनीहरु आफ्नो आफ्नो परिवार र अलि क्वालिटीको लाइफ वा यहाँ भन्दा बेटर हुन्छ कि भन्ने हिसाबले गइरहेका छन् ।
अरु कन्ट्रीहरु, युरोप, अमेरिका, क्यानडा भनौँ या अस्ट्रेलिया जानेहरु स्टुडेन्टको रुपमा जानेहरु अलि बढी छन् । एउटा प्यारेन्ट्सले नै मेरो छोरा नेपालमा बसेको भन्दा बाहिर जाँदाखेरि अलि बढी खुसी हुने वा उत्प्रेरणा दिने भन्ने टाइपको साइकोलोजी डेभलप भएको छ । त्यो दुःखद पक्ष हो ।

अन्त्यमा, लगानी सम्मेलनको बारेमा केहि कुरा थप्न चाहनुहुन्छ ?
विशेषत म मिडियाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु । अहिले सुदूरपश्चिमको लगानी तथा विकास सम्मेलन एउटा नेसनल इस्यू बनेको छ । अब हामी सुदूरपश्चिमको दायराभित्र मात्रै सिमित छैनौं । किनभने सुदूरपश्चिमको विकास समृद्धि हुनु भनेको अन्ततोगत्व समग्र देशकै डेभलपमेन्टसँग जोडिने कुरा भएको हुनाले एउटा नेसनल इस्यू बनेको छ । यसमा अझै मिडियाकर्मीले दुईटा काम गरिरहेका छन् । एउटा कुरा हामीलाई उत्प्रेरणा दिने काम गर्छ भने अर्को कुरा कि इन्भेस्टरहरुलाईसम्म पुर्याउने मेसेन्जरको काम मिडियाले गरेका छन् । यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु ।


जेनजीको आन्दोलनमाथि दमन भयो, माग सुनुवाइ नभए आत्मघाती हुन्छ’

जेनजीको आन्दोलनमाथि दमन भयो, माग सुनुवाइ नभए आत्मघाती हुन्छ’

वि.सं.२०८२ भदौ २४ मंगलवार १०:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले...

इम्बोस्ट नम्बर प्लेटका सवालमा सरकारको तयारी पुगेको छैन

इम्बोस्ट नम्बर प्लेटका सवालमा सरकारको तयारी पुगेको छैन

वि.सं.२०८२ भदौ १७ मंगलवार ०९:२६

यातायात व्यवसायीहरुले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको...

स्किम र सुविधाहरु गहिरिएर बुझे सामाजिक सुरक्षा कोषबाट अधिक फाइदा छ

स्किम र सुविधाहरु गहिरिएर बुझे सामाजिक सुरक्षा कोषबाट अधिक फाइदा छ

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१३

सबैभन्दा पहिलो कुरा त सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरुको तथ्यांकबारे...

‘गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको भविष्यप्रति राज्य निरिह छ’

‘गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको भविष्यप्रति राज्य निरिह छ’

वि.सं.२०८२ भदौ १५ आइतवार १०:४१

काठमाडौं । भूपू गोर्खा र हाल कार्यरत गोर्खाहरुको अधिकार, नागरिकता...

‘नेपालमा ड्रोन अनुमति प्रक्रिया जटिल छ, आधा घन्टाका लागि १५ दिन खर्चिनुपर्छ’

‘नेपालमा ड्रोन अनुमति प्रक्रिया जटिल छ, आधा घन्टाका लागि १५ दिन खर्चिनुपर्छ’

वि.सं.२०८२ भदौ १३ शुक्रवार ०९:४३

काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ...

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई

अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई

वि.सं.२०८२ भदौ ९ सोमवार १०:१६

काममा ढिलासुस्ती, बेथिति र अनियमितताको आरोप खेप्दै आएको वैदेशिक रोजगार...