भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते
वि.सं.२०८१ पुस २३ मंगलवार
काठमाडौं । चीनको पहाडी तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।
मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
भूकम्पका कारण धेरै पूर्वाधार संरचनाहरु ध्वस्त भएका छन् । सो क्षेत्रमा व्यापक खोज र उद्धार अभियान चलिरहेको छ ।
प्रकाशित समय : १२:५० बजे





















