साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उच्च अंकले घटेर २५९६.८२ विन्दुमा
वि.सं.२०८१ पुस ४ बिहीवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको शेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो ।
बिहीबार नेप्से परिसूचक ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक घटेको छ।
बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको शेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।
सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँको भएको छ ।
प्रकाशित समय : १५:५८ बजे






















