लघुवित्त वित्तीय संस्था भनेको के हो ?, लघुवित्त वित्तीय संस्थाको कर्जाको सीमा कति हुन्छ ?
लघुवित्तको महत्व
वि.सं.२०८१ कात्तिक २८ बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।
लघुवित्तहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । लघुवित्त बिना धितो ऋण प्राप्त हुन्छ । नेपालको धेरै ठाउँ जहाँ बैंकको सुविधा नपुगेको स्थानमा पनि लघुवित्तहरु पुगेका छन् । जहाँ ‘क’, ‘ख’, ‘ग’ मा विभाजित बैंकहरुको शाखा नपुगेको क्षेत्रमा त्यहाँ ‘घ’ वर्गको बैंक पुगेको छ जसलाई लद्युवित्त भनिन्छ बंगलादेशबाट सुरु भएको लघुवित्तले ग्रामीण विकासमा विश्वव्यापी रुपमा नै ठूलो मद्दत पुर्याएको छ । लघुवित्तले आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गलाई आवश्यक तालिम तथा सामूदायिक कार्य सहित आयआर्जनको लागि कर्जा प्रदान गर्ने भएकोले यसलाई गरीवि निवारणको महत्वपूर्ण साधन मानेर विश्व समूदायले लघुवित्तका प्रवर्धक ग्रामीण बैंक बंगलादेशका अर्थशास्त्री प्रो. डा.मोहम्मद इनुसलाई नोवल पुरस्कारले सन् २००६ मा सम्मान गरिसकेको छ ।
लघुवित्तको महत्व :
बिना धितो कर्जा दिन्छ
‘घ’ बर्गको बैंक अर्थात लघुवित्तले गाउँ घरमा एक समुह बनाएको हुन्छ, जसमार्फत ऋण मात्र लिन होइन कि, बचत पनि गर्न सकिन्छ । त्यस्तै, लघुवित्तले समूहको बचत मार्फत उठेको पैसाले नै ऋणीलाई ऋण उपलव्ध गर्ने गर्दछ भने नपुग ऋण लघुवित्तले उपलब्ध गराउने गर्छ । साथै, त्यस समुहमा बसेको सदस्यहरुलाई कम व्याजमा ऋण उपलव्ध हुन्छ, भने समूहमा नबसेको व्यक्ति वा संस्थालाई अलि बढी व्याजदर कायम गरेको हुन्छ । त्यसैले समूहमा नबसेको व्याक्तिलाई पनि लघुवित्तले ऋण उपलब्ध गराउने छ ।
लघुवित्तले अहिले गाँउ घरमा रहेको समूहमा धितो विनाको ऋण उपलब्ध गर्दै आएको छ । यस्तो ऋण प्राप्त गर्नको लागि सो समूहको बैठक बसेर लघुवित्तले समूहको जिम्मेवारीमा ७ लाख सम्म धितो लगानी गर्र्दै आएको छ । यस्तो रकम प्राप्त गर्नको लागि आफुले लगानी गर्ने क्षेत्रको बारेमा खुलाउनु पर्ने हुन्छ ।
कुन क्षेत्रको लागि पैसा चाहिएको हो, सो को आधारमा लघुवित्तले पैसा उपलव्ध गर्ने व्यवस्था रहेको छ । अथवा त्यस समूहको सदस्यहरुको साथै, लघुवित्तको कर्मचारीहरुले ऋणीको आवश्यकता हेरेर समुहमा उठेको पैसा लगानी गर्ने गर्छ । जसमा ऋणीको नागरिकताको फोटोकपी, सिफारितपत्र, कुनै फर्म भए त्यसको प्रमाणपत्रको प्रतिलिपी लगायत कागजपत्र राखेर लघुवित्तले ऋण उपलव्ध गराउने छ ।
सामाजिक क्षेत्रमा योगदान गर्छ
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो । नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै निकै ठूलो योगदान रहेको छ । सनु २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् । यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ ।
उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ ।
गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ । विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् ।
घुवित्त वित्तीय संस्थाको लागि कार्यक्षेत्र सम्बन्धी व्यवस्था के छ ?
लघुवित्त वित्तीय संस्थाहरुका लागि एउटै प्रदेशका जिल्लाहरुमा शाखा खोल्न पाउने गरेर प्रादेशिकस्तरको र देशभर शाखा खोली कारोबार गर्न पाउने राष्ट्रियस्तरको गरी दुई कार्यक्षेत्रको व्यवस्था गरिएको छ ।
लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्छ ?
लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरुबाट बचत निक्षेप संकलन गर्न पाउँदैन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सीमित शाखाहरुबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।
लघुवित्त वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण कसले गर्छ ?
लघुवित्त वित्तीय संस्थाहरुको नियमन र सुपरिवेक्षण नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले गर्ने गर्दछ । यसका लागि नेपाल राष्ट्र बैंकले छुट्टै नियमन तथा सुपरिवेक्षण व्यवस्था र निर्देशन जारी गरेको छ ।
लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर र सेवा शुल्क कति हुन्छ ?
लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी गरिएको ब्याजदर र सेवा शुल्क सम्बन्धी परिपत्रले तोके बमोजिमको ब्याजदर र सेवा शुल्क कायम गर्नु पर्ने हुन्छ ।
लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोत के के हुन ?
शेयरधनीहरुबाट पुँजी वापत प्राप्त रकम, सदस्यहरुबाट संकलित बचत रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको सापटी र संस्थाले गरेको नाफाबाट छुट्याइएको कोष वापतको रकम नै लघुवित्त वित्तीय संस्थाको कोषको प्रमुख स्रोतको रुपमा रहेको हुन्छ ।
लघुवित्त वित्तीय संस्थाले कति प्रकारको कर्जा प्रवाह गर्न सक्छ ?
लघुवित्त वित्तीय संस्थाले समूह जमानीमा विना धितो लघु कर्जा र स्वीकारयोग्य धितो लिई धितो कर्जा गरी दुई (२) प्रकारको कर्जा प्रवाह गर्न सक्छ ।
लघुवित्त वित्तीय संस्थाको कर्जाको सीमा कति हुन्छ ?
लघुवित्त वित्तीय संस्थाले सदस्यहरुको समूह जमानीमा प्रति सदस्य बढीमा रु.३ लाख विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका सदस्यको हकमा बढीमा रु.५ लाख) को विना धितो लघु कर्जा र व्यवसायिक परियोजनाको लागि स्वीकारयोग्य धितो लिई तोकिएको कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई बढीमा रु.१५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ ।
प्रकाशित समय : ११:०७ बजे






















