back

लोमान्थाङमा स्याउको खेती

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्छन् ।

उनका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । “तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,” उनले तीन दशकअघिको स्मरण गरे,“अहिले घाँसा, लेतेमा स्याउको बगैचानै छैन् । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।”

दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैचामा स्याउ फलाउन थालेका छन् । “पहिले धेरै स्याहार सुसार र मेहनत गरेपनि स्याउ फल्ने गरेको थिएन,” उनले भने, “तापक्रम बढ्न र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।”

मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकहरुले बताएका छन् । तल्लो क्षेत्रमा नासिदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिदै र फस्टाउन थालेको छ ।

थासाङ गाउँपालिका–२ कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौति सिर्जना भएको बताए। “पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ,” उनले भने,“बगैचा व्यवस्थापन, सिचाई र किराबाट बचाएर स्याउ खेतीलाई निरन्तरता दिएका छौ ।”

कोवाङ क्षेत्रको बगैचाको स्याउमा दादे रोग चुनौतिका रुपमा देखिएको थकालीले बताए । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकहरुले विकल्पमा ओखर खेती गर्न थालेका छन् । जोमसोम देखि तल्लो भेगमा अत्याधिक स्याउ खेती हुने भएकाले वि.स. २०२३ मा सरकारले मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरेको थियो ।

स्याउ लगायत हिमाली फलफुल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र विउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताए । “सैद्धान्तिक हिसाबले समुन्द्रि सतहदेखि दुई हजार देखि तीन हजार मिटरको उचाईको भूगोलमा स्याउ खेती हुनुपर्ने हो,” उनले भने “दुई हजार मिटर उचाईको भूगोलमा स्याउ खेती नासिएको छ । चार हजार मिटरको उचाईमा स्याउ उत्पादन हुन थालेको छ ।”

स्याउको परागशेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ । उच्च गुणस्तरको जातका स्याउ परागशेचन हुन एक हजार देखि एक हजार छ सय घण्टा सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ । मध्यम गुणस्तरको स्याउलाई छ सय देखि एक हजार घण्टा र कम गुणस्तरको स्याउको परागशेचनका लागि चार सय देखि छ सय घण्टा सम्म सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ । स्याउको परागशेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्युनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो ।

चालीस प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकुल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताए ।

“जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,” आत्रेयले भने “स्थानीयले पनि स्याउ खेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रीया अघि बढाएका हौ ।”

तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ । पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपाली गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खान योग्य भएको घरपझोङ गाउँपालिका–२ मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताए । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउदैनथ्यो,” उनले भने, “यसपाली विगतका वर्ष भन्दा धेरै गर्मी महशुस भएको छ । स्याउ पनि १५–२० दिन अघिनै पाक्न थालेको छ ।”

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त बरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेका बताए । “उच्च घनन्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,” उनले भने,“स्थानीय जातको स्याउमा पनि गुलीयोपना नाप्दा विगतको तुलनामा केही समय अघि पाकेको पाइयो ।”

उपकरणको सहायताले स्याउको गुलीयोपना नापीन्छ । गुलीयापनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते र रिङरोट जातको स्याउ भदौ १५ गतेदेखिनै टिप्न थालिएको थियो ।

स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको छ । अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोगको समस्या कम देखिएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षका तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार ९७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका शहरका ब्यापारी बगैचामा नपाग्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ । रासस

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

वि.सं.२०८२ चैत १९ बिहीवार ११:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा...

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

वि.सं.२०८२ चैत ९ सोमवार १४:११

रौतहट । चैत ६ र ७ गते (शुक्रबार र शनिबार)...

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

वि.सं.२०८२ चैत ७ शनिवार २०:०४

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको...