समुद्रको पानीबाट ब्याट्री निर्माण गरिने, कम मूल्यमा २ हजार किमी रेन्ज दिने: अहिलेको ब्याट्री भन्दा धेरै सस्तो र ४ गुणा बढी शक्तिशाली
इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र रेन्ज हो ।
वि.सं.२०७९ पुस २ शनिवार
काठमाडौं । बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र रेन्ज हो । रि
पोर्टका अनुसार यो समस्याको समाधानका लागि वैज्ञानिकहरूले समुद्रको पानीबाट एउटा ब्याट्री बनाएका छन् जुन अहिले प्रचलनमा रहेको लिथियम ब्याट्री भन्दा धेरै सस्तो र ४ गुणा बढी शक्तिशाली छ ।
सो ब्याट्री युनिभर्सिटी अफ सिड्नीका अनुसन्धानकर्ताहरूले बनाएका हुन् । युरोन्युज डटकमका अनुसार यो ब्याट्रीमा सोडियम सल्फर प्रयोग गरिएको छ ।
यो एक प्रकारको पग्लिएको नुन हो जुन समुद्रको पानीबाट बनाइन्छ । यो ब्याट्री लिथियम भन्दा धेरै सस्तो र वातावरण मैत्री हुन्छ । समुद्रको पानीबाट बनेको ब्याट्रीमा उर्जा भण्डारण गर्ने क्षमता पनि बढी हुनेछ ।
प्रमुख शोधकर्ता डा.शेनलङ झाओले हाल प्रचलित लिथियम ब्याट्रीको मूल्य कम हुने र चार गुणा बढी उर्जा भण्डारण गर्ने क्षमता हुने बताए । आगामी दिनमा यसको उत्पादन व्यापक रुपमा भयो भने मूल्य झनै कम हुने उनको भनाइ छ । यसबाट नवीकरणीय उर्जाको प्रयोग समेत बढ्ने छ ।
यो ब्याट्रीको प्रयोगबाट चल्ने गाडीले सिंगल चार्जमा २ हजार किलोमिटर सम्म रेन्ज दिनेछ ।
हाल बजारमा उपलब्ध ब्याट्रीहरूमा लिथियम, ग्रेफाइट र कोबाल्ट जस्ता दुर्लभ धातुहरू प्रयोग गरिएको हुन्छ ।
यी पदार्थहरूको लागत धेरै उच्च छ र यसको भण्डार संसारका केही देशसँग मात्र छ ।
रिपोर्टका अनुसार २०३० सम्ममा युरोपेली संघका देशलाई हालको भन्दा १८ गुणा बढी लिथियम ब्याट्रीको आवश्यकता पर्नेछ । २०५० सम्ममा यसको माग ६० गुणा बढी हुनेछ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनका अनुसार लिथियम र अन्य दुर्लभ सामग्रीको मूल्य तेल र ग्याँसको भन्दा बढी हुनेछ ।
प्रकाशित समय : २१:०८ बजे






















