बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै
वि.सं.२०८३ जेठ २५ सोमवार
नेपालको शेयर बजार अहिले सतहमा हेर्दा केही सुस्त देखिए पनि भित्रभित्रै गहिरो परिवर्तनहरूको चरणमा छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा पनि शेयर बजार सम्बन्धी थुप्रै कुराहरु आएका छन् ।
शेयर बजारको दीर्घकालिन विकास, परिपक्कता र अन्तर्राष्ट्रिय स्तरमा विस्तारका लागि गहन कुराहरु आएका छन् । जसलाई अल्पकालीन, साँघुरा र निम्क्षरो दृष्टिकोणले हेर्नुहुदैन ।
जस्तो नयाँ बजेटमा नेप्सेमा सूचीकृत धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ । यस अघिका सरकारले त्यो गरेको थिएन । त्यसैगरी गैरआवासिय नेपालीलाई धितोपत्रको दोश्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाकंन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था गर्ने बजेटमा भनिएको छ । त्यसैगरी नियामकीय क्षमता अभिबृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने भनिएको छ ।
जस अन्तर्गत नेप्सेको पुर्नसंरचना अघि बढाई इन्ट्राडे सर्ट सेलिङ, डेरिभेटिभजस्ता उपकरणको चरणबद्ध सुरुवात गरिने भनिएको छ । त्यसैगरी शेयर बजारमा अवाञ्छित गतिविधि विरुद्ध शुन्य शहनशीलताको नीति लिने भनिएको छ । बजेटले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी विदेशी पूँजी बजारमा प्रवेश गर्ने बाटो खुला गर्ने अर्थात् ग्लोबल डिपोजिटरी रिसिट (जीडीआर) जारी गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । यस प्रावधानले नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय लगानीकर्तासम्म पुग्ने अवसर दिनेछ । जसबाट उनीहरूले बाह्य बजारबाट ठूलो मात्रामा पूँजी जुटाई आफ्नो व्यवसाय विस्तार गर्न सक्ने आधार तय हुनेछ । यसरी नयाँ बजेटले शेयर बजारका सम्बन्धमा धेरै बोलेको छ । त्यसको कार्यान्वयन कस्तो हुनेछ, त्यसैमा शेयर बजारको दीर्घकालीन भविष्य निहित हुनेछ । खासगरी सरकार नयाँ र युवाहरुको भएका कारण पनि बजेट हुबहु कार्यान्वयन हुनेमा धेरैले आशा पनि गरेका छन् ।
यद्यपी शेयर बजार नयाँ बजेट आइसकेपछि पनि साना तिना कुरा र खासगरी राजनीतिक पुर्वाग्रहको कोणबाट फैलाइएका भ्रमहरुबाट पनि आक्रान्त बन्यो । बजेट लगत्तै खुलेको बजारले हल्ट हाल्ने गरी सकारात्मक प्रतिक्रिया जनाउने आकलन धेरैका थिए । तर त्यो भएन ।
तर अब चाँहि बजार परिपक्क भएको छ । अर्थात सरकारले बजेटमा ल्याएको के हो ? बजार प्रति सरकारको दृष्टिकोण के हो ? भन्ने सम्बन्धमा अब भ्रमहरु बाँकी छैनन् । बजार परिपक्क हुदैछ । बजारले क्रमश सकारात्मक दिशा समात्नेमा अब दुबिधा छैन । इतिहास, तथ्यांक र वर्तमान आर्थिक संकेतहरूलाई एकैसाथ हेर्दा हिजोका गिरावटभन्दा बढी संक्रमणको संकेत थियो । अब त्यो पार भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट करिब रु. २१ खर्ब २४ अर्बको छ, जुन नेपालको अहिलेसम्मकै ठूलो बजेटमध्ये एक हो । यसमध्ये पूँजीगत खर्च ४ खर्बभन्दा बढी छुट्याइएको छ, जसले पूर्वाधार विकास, निर्माण क्षेत्र र समग्र आर्थिक गतिविधि विस्तारमा टेवा पु-याउने अपेक्षा गरिएको छ । निजी क्षेत्र मैत्री नीति, उद्योग–व्यापार प्रवर्द्धन, र वित्तीय प्रणालीलाई चलायमान बनाउने लक्ष्य बजेटमा स्पष्ट देखिन्छ ।
अर्थतन्त्रका पछिल्ला सूचकहरूले पनि क्रमशः सुधारको संकेत दिएका छन् । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हाराहारी रहने प्रक्षेपण छ । जुन अघिल्लो वर्षको सुस्तताबाट माथि उठ्ने संकेत पनि हो । मुद्रास्फीति करिब ५ प्रतिशत आसपासमा सीमित हुँदै छ, जसले उपभोक्ता बजारलाई स्थिरता दिएको छ। अझ महत्वपूर्ण कुरा, बैंकिङ प्रणालीमा रहेको उच्च तरलतालाई मध्यम बर्ग तथा जागिरेहरुलाई बढी फाइदा पुग्ने गरि दिइएको बार्षिक १० लाखसम्मको कर छुट सुबिधाले ऋणको माग बढ्ने निश्चित छ । बैंकरहरुले नै गाडी तथा घरजग्गा खरिदका लागि साना, मझौला खालका ऋणको सोधखोज बढ्न थालेको बताएका छन् । जसले बजार चलायमान हुने र बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय बढ्ने निश्चित छन् । फलत त्यसको सकारातमक प्रभाव शेयर बजारमै देखिने हो ।
खासगरी ब्याजदर र तरलताको ट्रेन्डले शेयर बजारमा निर्णायक भूमिका खेल्छ । नेपालको विगत हेर्दा जब ब्याजदर घट्न थाल्छ र बैंकहरू कर्जा विस्तारतर्फ जान्छन्, त्यतिबेला पूँजी बजारमा लगानी प्रवाह बढ्ने गरेको छ । अहिले ठीक त्यही प्रारम्भिक संकेतहरू देखिँदैछन्।
मूल्यांकनका हिसाबले पनि बजार आकर्षक बन्दै गएको छ । बजार पूँजीकरण पनि नेपालको जिडिपीको करिब ४० प्रतिशत आसपास मात्र छ, जसले दीर्घकालीन विस्तारको ठूलो सम्भावना देखाउँछ ।
क्षेत्रगत रूपमा हेर्दा, बैंकिङ क्षेत्र स्थिर नाफामा छ र ब्याजदर घट्दै जाँदा र नयाँ बजेटले मध्यम बर्गको विस्तारलाई सघाइरहँदा कर्जा विस्तार क्षमता अझ बढ्नेछ । बीमा क्षेत्रले चालु वर्षको १० महिनामा मात्र रु. १.५६ खर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । जुन वित्तीय गतिविधि विस्तारको संकेत हो । जलविद्युत क्षेत्रमा उत्पादन र निर्यात दुवै बढ्ने क्रममा छन्, बजेटले पनि उर्जालाई धेरै माया गरेको छ । ७० अर्ब रकम त प्रशारण लाइन निर्माणका लागि छुट्याएको छ । जसले आगामी वर्षहरूमा कम्पनीहरूको आम्दानी सुधार्ने आधार तयार गर्छ ।
यद्यपि लगानीकर्ताहरू अहिले “पर्ख र हेर” को अवस्थामा अझै छन । तर बजेटले स्पष्ट दृष्टिकोण, नीति र सुविधा दिइसकेको र मौद्रिक नीति पनि त्यसैलाई सघाउने हिसावले तयार गर्न थालिएको अवस्थामा लगानीको लागि अहिले सुनौलो अवसर छ । किनकी बजार अब पछाडि फर्कने ठाउँमै छैन । एकातिर बैक तथा वित्तीय संस्था, जलविद्युत कम्पनीहरु, उद्योग ब्यापार कम्पनीहरुको ब्यापार र लगानी बढ्ने दिशातिर अघि बढी सकेका छन् भने अर्कोतिर बजेट देखि मौद्रिक नीतिसम्मले शेयर बजार लागनीकताृका तमाम माग सम्बेधान गरिसकेका छन् । त्यसकारण अहिलेको खाँचो आत्मविश्वास बढाउने र सकारात्मक सोच सहित अगाडि बढ्ने हो ।
समग्र चित्र हेर्दा, शेयर बजार सकारात्मक दिशमा अघि बढ्ने प्रशस्त आधारहरू छन । घट्दो ब्याजदर, सहज तरलता, ठूलो आकारको बजेट, उच्च पूँजीगत खर्च, र निजी क्षेत्रमैत्री नीति—यी सबै तत्व एकैसाथ अनुकुल देखिनु सामान्य कुरा होइन। इतिहासले देखाउँछ, यस्ता अवस्थाबाट नै नयाँ बुल साइकिल सुरु हुने गर्छ ।
शेयर बजार सधैं उत्साहको चरम बिन्दुमा होइन, शान्त र अन्योलको समयमा नयाँ यात्रा सुरु गर्छ ।
त्यसकारण, नेपालको शेयर बजार अहिले तयारीको अवस्थामा छ । यदि बजेटका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भए, ब्याजदर घट्दो मार्गमै रह्यो र आर्थिक गतिविधिले गति लियो भने आजको यो स्थिरता भोलिको मजबुत उकालो यात्राको आधार बन्ने सम्भावना प्रबल छ ।
रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।
प्रकाशित समय : १२:०६ बजे






















