नेता–सांसदकै क्रसरबाट राष्ट्रिय सडक धरापमा
क्रसर सञ्चालकहरू कांग्रेस, एमाले, माओवादीका नेताहरू नै छन् ।
वि.सं.२०८२ पुस २१ सोमवार
काठमाडौं । गत वर्ष असोज ११ र १२ गते दुई दिन रोसीमा लेदोसहितको बाढी आउँदा गाउँगाउँ र बस्तीबस्ती नै बगाउनु, ६ महिला, तीनजना पुरुष, चारजना बालबालिकाको मृत्यु हुनु, करोडौंको भौतिक संरचना ध्वस्त हुनु बनेपा – बर्दिबासको बिपी राजमार्गअन्तर्गत झन्डै १५ किलोमिटर भाग क्षतिग्रस्त हुनुमा क्रसर उद्योगहरू मुख्य कारण रहेको स्थानीय जनताले आरोप लगाएका छन् ।
स्थानीयदेखि केन्द्रीय सरकारले सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्नेतर्फ चासो र तत्परता नदेखाए बाँकी बस्ती पनि पुरिने उनीहरूले चेतावनी दिएका छन् । काभ्रेको रोसी गाउँपालिकाका स्थानीयका अनुसार गाउँमा क्रसर उद्योग सञ्चालमा आउन थालेको १२ वर्ष बितिसकेको छ ।
गाउँमा क्रसर उद्योग सञ्चालनमा आएदेखि नै स्थानीयले विरोध गर्दै आए पनि त्यसको सुनुवाइ नभएको स्थानीय बताउँछन् । उनीहरू भन्छन्, ‘गत वर्षको असोज ११ र १२ गते रोसीमा आएको बाढीपहिरोको मुख्य कारण यिनै क्रसर उद्योग हुन् । बाढीपहिरोले त्यतिबेला पूरै गाउँ बगायो । बस्ती बगायो ।
महिला तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भयो । रोसी गाउँपालिकाको १० शय्याको अस्पताल बगायो I करोडौंको भौतिक संरचनामा ध्वस्त पायो । बनेपा–बर्दिबासको बिपी राजमार्गअन्तर्गत झन्डै १५ किलोमिटर सडक भत्कियो, जुन अझैसम्म बन्न सकेको छैन ।’उनीहरूका अनुसार यो सडक रोसी खोलाको किनारैकिनार सञ्चालनमा रहेको सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।
बिपी राजमार्ग ( धुलिखेल- सिन्धुली- बर्दिबास ) को कटुञ्जेबेसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ । खोलानजिकै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै; यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ ।
स्थानीय पीडित भन्छन्, दर्जनौंको मृत्यु र करोडौंको क्षति भए पनि स्थानीयदेखि केन्द्र सरकार कसैले पनि यी क्रसर बन्द गर्ने आँट गरेनन् । हामीले क्रसर राखेदेखि विरोध गर्दै आयौं, तर बाघको अगाडि स्थाल कराएजस्तो भयो ।’
आफूहरूका माग सम्बन्धित निकायमा पुयाएर क्रसर उद्योग बन्द गर्नेतर्फ पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् । अनुगमन गर्न पुगेको पत्रकार टोलीसँग गुहार्दै स्थानीयले भने, ‘यहाँका क्रसर उद्योग ठूलाबडा र नेताहरूले सञ्चालन गरेका छन्, त्यसैकारणले पनि यी क्रसर उद्योग बन्द हुन नसकेका होलान् । अब हाम्रो सहारा तपाईंहरू मात्र बाँकी हुनुहुन्छ । यी क्रसर बन्द गराउन तपाईंहरूले पहल गरिदिनुपयो ।’
रोसी खोला वातावरण संरक्षण संघर्ष समितिका अध्यक्ष प्रेमध्वज लामाले विरोधको रूपलाई नयाँ चिराबाट लैजाने योजना बनाएको बताए । क्रसर सञ्चालकहरू कांग्रेस, एमाले, माओवादीका नेताहरू नै छन् । अहिले जेनजी सरकार भएकाले गृह मन्त्रालयदेखि उच्च सरकारी मन्त्रालय, कार्यालयमा ज्ञापनपत्र बुझाई सुनुवाइ गराउने योजना रहेको उनले सुनाए ।
जथाभावी क्रसर उद्योग सञ्चालन गर्न दिँदा पहिरोको जोखिम बढेको भन्दै रोसी खोला पीडितहरूले दुखेसो पोखेका छन् । विभिन्न सञ्चारमाध्यमसँग स्थलगत रूपमा छलफल गर्दै बिपी राजमार्ग नै पहिरो जाने गरी दिनरात बालुवा झिक्ने कार्य भइरहेको उनीहरूको आरोप छ ।
रोसी खोलाका साथै सुनकोसीका तटीय क्षेत्रमा पनि साँझ परेपछि सयौं टिपरले गिटीबालुवा ओसार्ने कार्यले थप पहिरोको जोखिम बढाएको स्थानीय बताउँछन् । पहाडका ठाउँठाउँमा गहिरागहिरा धाँजा फाटेकाले पानी पर्नेबित्तिकै सुक्खा पहिरो जाने सम्भावना रहेकाले पहाडै खस्ने गरी पहिरो गएमा बाँकी रहेका बस्तीसमेत पुरिने उच्च जोखिम रहेको उनीहरूको भनाइ छ । जथाभावी चलेका क्रसर उद्योगहरूलाई समयमै व्यवस्थित गर्न स्थानीय समुदायले आग्रह गरेका छन् ।
प्रकाशित समय : १५:३८ बजे





















