त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडानका सबै यात्रुहरुलाई बाहिर निकालियो

वि.सं.२०७९ वैशाख २१ बुधवार

काठमाडौँ । आज (बुधबार)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।
अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ।विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।
उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताएका छन् ।
बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ अहिलेसम्म खुलेको छैन।

प्रकाशित समय : १०:५५ बजे