back

सडकको छेउबाट सुरु भएको दिक्षा चापागाईंको मातृत्व

आज ती अवोध बच्चाहरू दिक्षालाई कोही ‘ममी’ र कोही ‘मामु’ भन्छन् । उनीसँग भोक लाग्दा भन्छन्, ‘ममी भोक लाग्यो ।’ जब उनी बिरामी पर्छिन्, बालबालिकाले चिन्तित स्वरमा सोध्छन्, ‘ममी के भयो ?’ दिक्षा चापागाईं संस्थापक: पवित्र समाज सेवा नेपाल

काठमाडौं । २००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर—कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे—पुराना जति दुःखद ।

काठमाडौंको भीडभाड, धुवाँधुलो र सडकपेटीको हल्लाहरुकाबीच एकजना स्त्री थिइन् दिक्षा । जो फोहोरको थुप्रोमा हराएका अनुहारहरूमाथि आमाको न्यानो दृष्टि फाल्थिन् । त्यो २००२ सालतिरको कुरा थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट राजधानी आएकी थिइन् । कम्प्युटर सिक्ने सपना बोकेर । तर सपनाको गन्तव्यले उनलाई अर्कै मोडमा पु¥यायो । जहाँ आफ्ना सपना भन्दा ठूला अरूका घाउहरू देखिए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा उनका आँखा घरि खुशीले रसाउथे र घरि पीडाले छछल्किन्थे । ‘मेरो हृदय नै मेरो प्रेरणाको स्रोत हो,’आँखामा पुराना दिनको ओभानो सम्झनाको थोपा लुकाउँदै उनले सुनाइन् ।

पुतलीसडकको गल्लीभित्र गन्तव्यतिर हिडिरहँदा, उनले देखिन्, ‘बालबालिका, वृद्धवृद्धा, मानसिक रोगी, लाचार मान्छेहरू फोहोरको थुप्रोमा थलिएका । बाँचिरहेका तर जिउँदो छैन जस्तो देखिने ती शरीरहरू । शरीरमा दिशापिसाब लिप्पिएका, कपडाको नाममा च्यातिएका झुत्रा कपडा, आँखामा भोकको आँसु ।’

त्यसदिनदेखि दिक्षाको जीवनले अर्कै मोड लियो । उनले भनिन्, ‘ती सबै म जस्तै लाग्थे–मेरो आमा, बाबा, भाइबहिनी, छोराछोरी जस्तै ।’

सुरुमा कम्प्युटर सिक्थिन्, साँझपख झोलामा डेराबाट लिएको बाँकी खाना बोकेर ती सडकमा थलिएका मानिसहरूलाई खुवाउने गर्थिन् दिक्षा । जब उनले १५ सय रुपैयाँको तलबको जागिर पाइन्, त्यही तलबबाट ६ सय तिरेर लाजिम्पाटमा कोठा भाडामा लिएर आफैँ एउटा सानो आश्रय स्थापना गरिन् । अनि सुरु भयो जीवनभरको ‘आमा बन्ने’ यात्रा । अनि विर्सिइन सयौं अनाथ र असाहयहरुको आमा बन्दाबन्दै वैवाहिक जीवनको सुखसयल ।

तर बाटो सजिलो थिएन । घरबेटीले कोठाबाट निकालिदिने, समाजले औँला ठड्याउने, सहयोगीको मुखमा पनि घोच्ने शब्दहरु । यी सबै सहेर पनि उनी कहिल्यै रोकिइनन् । एकपछि अर्को गर्दै उनले सडकबाट, ओडारबाट, अस्पतालको चौरबाट, जंगलका कुनाबाट बच्चाहरू उठाइन् । कोही जन्मिएको भोलिपल्ट फालिएका, कोही हराइएका, कोही त निदाएर आँखा खोल्न नसक्ने । कोही बाबुको पहिचान विनामा बेबारिसे शिशुहरु उनका प्रिय बने ।

२३ वर्ष भयो, अहिले उनको साथमा ६८ जना छन् । सबैजना उनका ‘छोरा–छोरी’। कोही स्कुलमा छन्, कोही कलेजमा, दुईजना त अहिले रसियामा उच्च शिक्षाका लागि छन् । यो कुनै संस्था होइन, कुनै अनाथालय होइन, ‘यो हाम्रो सानो स्वर्ग हो,’ दिक्षा भन्छिन् ।

यसो भन्न सजिलो हो, तर जुन आँसु उनले पगालेर आशाको घर बनाइन्, त्यो हजारौं घाउ र रातभरको पीडासँगको संघर्षबाट सम्भव भएको हो । र खडा गरिन ‘पवित्र समाज सेवा–पीएसएस नेपाल’ नामक संस्था । अनि सुरु गरिन विधिवत र वैधानिक समाज सेवाको अविराम यात्रा ।

उनका अनुसार अहिलेसम्म हजारौंलाई सेवा दिइसकेकी छिन् दिक्षाले । आश्रममा आउने प्रत्येक अनुहारको आफ्नै पीडा छ –कोही फालिएका, कोही छाडिएका, उनी नै हुन् अशायहरुकी आमा, बाबा, गुरु र अभिभावक । ‘नजन्माए पनि जन्माएजत्तिकै माया दिएर काख दिएको छु,’ उनी भन्छिन् ।
आफ्ना सन्तान जन्माएर भाग्ने, छाडेर जाने, हराउने… यस्ता कैयौं घटनाहरूले दिक्षा चापागाईंको मनलाई झस्क्याउँछ तर कमजोर बनाउँदैन । विगत २३ वर्षदेखि उनले त्यस्ता थुप्रै निर्दोष अनुहारहरूलाई अँगालोमा बाँधिन्–जसको कोही थिएन, तर आज उनीहरूका लागि ‘सबैथोक’ को रूपमा दिक्षा उभिएकी छिन् ।

दिक्षाले कुनै बच्चा जन्माएकी छैनन् । तर उनले दिएको माया, स्नेह र काख त्योभन्दा हजार गुनाले गहिरो छ । उनी भन्छिन्, ‘उनीहरूका लागि आमा पनि म हुँ, बाबा पनि म नै । नजन्माए पनि जन्माएजस्तो माया दिएर हुर्काएकी छु ।’

प्रेम, समर्पण र निःस्वार्थ सेवाले भरिएको यो संसार, जुन उनले आफ्नै पौरखले सिर्जना गरेकी छिन् । ‘यहाँ कोही पनि अनुहार आँशुमा लिप्त हुँदैन, दिक्षा दृढ आवाजमा भन्छिन्, ‘यहाँ कोही पनि डराएर निदाउँदैन ।’
आज ती बच्चाहरू दिक्षालाई कोही ‘ममी’ र कोही ‘मामु’ भन्छन् । उनीसँग भोक लाग्दा भन्छन्, ‘ममी भोक लाग्यो ।’ जब दिक्षा बिरामी पर्छिन्, बालबालिकाले चिन्तित स्वरमा सोध्छन्, ‘ममी के भयो ?’
यसैगरी मातातिर्थ औंशीको दिन सबैजना दिक्षालाई टिका लगाउने गरेको उनले बताइन् । उनले भनिन्, ‘मातातिर्थ औसीको दिन उनीहरु मलाई टिका लगाउँदै कहिले रोग नलागोस्, सधै खुसी हुनु, कहिलै नरुनु, हजुरले गर्व गर्न लायक हामी बन्छौँ कहिल्यै दुःख दिदैनौँ भन्छन् ।’

दिक्षाका दुई छोरीहरू अहिले पढ्न परदेश गइसकेका छन् । नियमित फोन गर्छन्, ममीलाई सम्झन्छन् । उनी भन्छिन्, ‘बाहिर पठाउन पाउँदा गर्व लाग्यो, आफैं हुर्काएको फल देख्दा मन गदगद् हुन्छ ।’

समाजबाट सहयोग आउने गर्छ, तर घोच्ने तीरहरू पनि पर्छन्, कहिलेकाहीं दाताहरूको नजरबाट निस्किएको शब्दले पोल्छ । तर दिक्षा थाक्दिनन्, चुक्दिनन् । भन्छिन्, ‘जति अप्ठ्यारो आयो, मन दुख्यो, आशु आयो—तर यो कामले जुन सन्तुष्टि दिएको छ, त्यो मेरो आत्माले मात्र जान्दछ ।’
आज जब कसैले भन्छ, ‘तिमी सचेत बन, बालबालिका ठूला हुँदैछन्, कतै बाहिरजस्तो घटना नघटोस्,’दिक्षा डराउँदिनन्, सजग हुन्छिन् । ‘हामी हरेक हप्ता मिटिङ गर्छौं, उनी भन्छिन्, ‘सबैजना कुरा राख्छन् । गुनासो भए सुनिन्छ, समाधान खोजिन्छ ।’

यो कुनै धर्मशाला होइन, न कुनै औपचारिक संस्था । यो हृदयले चलेको घर हो । जहाँ एक नारीले आफूभन्दा अरूका लागि बाँच्ने बाटो रोजेकी छिन् । उनी भन्छिन्, ‘यो मेरो जीवन हो, यतै सन्तोष छ । विवाह नगरेर केही गुमेको छैन ।’

दिक्षा चापागाईं एक आमा, एक गुरु, एक संरक्षक । जसको प्रेम, त्याग र कर्मले थुप्रैको जीवन फेरिएका छन् । त्यो सानो घरभित्र ठूलो संसार अडिएको छ । जहाँ माया छ, विश्वास छ, र छ एक उर्जाशील प्रेरणा ।

कसैले जीवनको अर्थ विवाहमा खोज्छन्, कसैले करियरमा, कसैले सन्तानमा । तर दिक्षाको जीवन भने अर्कै धुनमा बगिरहेको छ । जहाँ सन्तान आफैं जन्माएकी होइनन्, तर माया दिएकी छन् । उनी भन्छिन्, ‘यो संसार अलि फरक छ । हृदयले मात्र गर्न सकिने काम हो । त्यो हृदयबिनाको सेवा, सेवा हुँदैन् ।’

२३ वर्षदेखि साना नानीहरूलाई माया, काख र भविष्य दिइरहेकी दिक्षा समाजलाई नयाँ आँखाले हेर्ने दृष्टिकोण दिन चाहन्छिन् । ‘कसैले घोचेर बोले पनि गुनासो गर्दिन, उनी भन्छिन्, ‘पुराना लुगा भए पनि खुला मनले दिऔं । त्यो लुगामा माया छ कि छैन, म त्यसैलाई हेर्छु ।’

यस सानो स्वर्गमा, जतिबेला पनि कोही न कोही आउँछ । दशैं होस् या तिहार, होली होस् या नयाँ वर्ष–एउटा खाजा, केही खाद्यन्न, केही लुगाफाटा लिएर । उनीहरूको नजरमा त्यो ‘सामान’ भन्दा ठूलो कुरा हुन्छ ‘मन’ । ‘गुन्द्रुक र भात भएपनि सफा मनले दिएको हो भने त्यो दस बोरा चामलभन्दा ठूलो हुन्छ,’ दिक्षा मुस्कुराउँदै सुनाउँछिन् ।

अब दिक्षाको सपना छ । स्कुल र कलेज पढ्ने बालबालिकाका लागि छुट्टै होस्टल बनाउने । साथै एउटा मेडिकल रुम बनाउने जहाँ बिरामी हुँदा सुत्न, आराम गर्न र उपचार गर्न मिलोस् । ‘भवन त बनेको छ, धेरैको सहयोगले,’ उनी भन्छिन्, तर अझै धेरै गर्न बाँकी छ ।’

पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो आश्रम नगरपालिकाले दिएको जग्गामा बनेको हो । आज संसारभर छरिएका नेपालीहरूको सहयोगले बनिसकेको आश्रम अब ‘अझ राम्रो, अझ सुरक्षित’ बनाउने तयारीमा छ दिक्षा ।

दिक्षा भन्छिन्, ‘म भगवानप्रति आभारी छु । अर्को जन्म भयो भने पनि मलाई यही जीवन, यही हृदय, यिनै हातखुट्टा देऊ । अरू केही चाहिँदैन ।’ उनी जन्म दिएकी आमा होइनन्, तर हजारौंलाई जीवन दिएकी आमा हुन् । बुढानिलकण्ठ नगरपालिका–४ मा रहेको टोखा बजार माथि रहेको पवित्र समाज सेवा नेपाल उनले संचालन गरिरहेको पवित्र घर हो जहाँ धेरैले आश्रय पाइरहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ

वि.सं.२०८२ चैत ३० सोमवार ११:०१

मानसिक रोग धेरै कारणले हुने गर्छ । सामाजिक विभेद, राजनीतिक...

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ

वि.सं.२०८२ चैत २६ बिहीवार १३:५२

अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती...

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

सामाजिक सञ्जाल ह्याक बढ्नुको मुख्य कारण प्रयोगकर्ताकै असावधानी : साइबर ब्यूरो

वि.सं.२०८२ चैत १५ आइतवार १२:१६

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल ह्याक हुने घटनामा...

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

वि.सं.२०८२ चैत १४ शनिवार १२:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

Nepal now has an opportunity to deliver meaningful change: Chhatra Bahadur Bhatta

वि.सं.२०८२ चैत १४ शनिवार ०९:३३

chhatra Bahadur Bhatta is active in politics and social service...

निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा

निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा

वि.सं.२०८२ चैत ११ बुधवार १०:२७

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैत १७, १८...